सिंहदरबार छिरेकालाई निश्कासन, लुम्बिनीका चार सांसदलाई स्पष्टिकरण « Jana Aastha News Online
Logo
७ माघ २०७८, शुक्रबार
|  Fri Jan 21 2022

सिंहदरबार छिरेकालाई निश्कासन, लुम्बिनीका चार सांसदलाई स्पष्टिकरण

प्रकाशित मिति :  ३ असार २०७८, बिहीबार १९:३०


जनता समाजवादी पार्टी (जसपा) ले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी महन्थ ठाकुर खेमाका सबै मन्त्रीलाई पार्टीबाट निश्कासन गरेको छ । मन्त्री बनेकाहरु पार्टीबाट स्वतः निश्कासनमा पर्ने यसअघिको निर्णयलाई आज बसेको कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा अर्को निवेदन पेश गर्ने निर्णय पनि गरेको छ । उहाँका अनुसार निर्वाचन आयोगले यसअघि विवरण अध्यावधिक गर्न अस्वीकार गरेको र आधिकारिकता मागदाबी गर्न भनेकाले दलसम्बन्धी ऐनको दफा ४३ र ४४ का आधारमा निवेदन दिने निर्णय गरेको हो ।

यसअघि बहुमत सदस्यको हस्ताक्षरसहित बैठकको निर्णय बुझाउँदा पनि आयोगले महन्थ ठाकुर खेमाका चार नेतालाई गरेको कारवाही अवैध ठहर्याएको थियो । आयोगको निर्णयप्रति असन्तुष्ट रहेको जसपा (बहुमत) पार्टीको आधिकारिकताका लागि पुनः आयोग जाने भएको हो ।

आजको बैठकले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमको पक्षमा उभिएका चार जना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय समेत गरेको छ । ‘संसदीय दलको ह्वीप उलंघन गरि नीति तथा कार्यक्रमको पक्षमा उभिएकालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको गरिएको छ’, श्रेष्ठले भन्नुभयो ।

जसपाले ६ महिने पार्टी संगठन शुद्धीकरण तथा जनजागरण अभियानसमेत सञ्चालन गर्ने भएको छ । आजको बैठकले बाढी पहिरो प्रभावितका लागि उद्धार तथा राहतको व्यवस्था मिलाउन सरकारसँग माग गर्ने र पार्टीका नेता तथा कार्यकर्तालाई उद्धार र राहत कार्यमा खट्न निर्देशन दिने निर्णय गरेको श्रेष्ठले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !