विराेधकाे प्रतिवादमा उत्रिन प्रधानमन्त्रीकाे निर्देशन

विराेधकाे प्रतिवादमा उत्रिन प्रधानमन्त्रीकाे निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेको प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई आज सम्बोधन गर्दै उहाँले सरकारका विरुद्धमा विरोधीहरुले कुप्रचार गरेको भन्दै त्यसको प्रतिवादमा उत्रिनका लागि निर्देशन दिनुभएको हो ।

विरोधीहरु आक्रमक ढंगले प्रस्तुत भएको भन्दै उहाँले सरकारको कामको प्रचार प्रसार गर्न र विरोधीको खण्डन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हरेक मन्त्रीहरुलाई सरकारको कामको प्रचार गर्न र विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धीहरुको डिफेन्ड गर्न अनुरोध छ ।’ प्रधानमन्त्री ओलीले विपक्षीले सरकार ढाल्न नसकेर अदालतको साहारा लिन पुगेको टिप्पणी पनि गर्नुभयो ।

यस वर्ष अघिल्ला वर्षहरुमा जस्तो तराइ डुबानमा नपर्ने पनि प्रधानमन्त्रीले दाबी गर्नुभयो । नेपाल भारत सिमा क्षेत्रमा लगाएको बाँध पहिले खुल्ला नछोडिने गरेका कारण डुबान भएको भन्दै उहाँले यसवर्ष बाँधलाई खोलिएको बताउनुभयो । बाँधका कारण नेपाली भूमि डुबानमा पर्ने विषयमा सर्वे गर्न संयुक्त टोली आवश्यक रहेको र त्यसनिम्ति काम गर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो ।

‘जुन डुबान क्षेत्रहरु हो त्यहाँ हामीले अलिकति खोलेका छौँ । अरु ठाउँहरुमा पनि खोल्दै जानु आवश्यक छ । यसका निम्ति संयुक्त टोलीले सर्भे गर्ने, संयुक्त टोलीले निर्णय गर्ने र संयुक्त टोलीलाई खटाउनुपर्ने यहीँ बेला हो’, उहाँले भन्नुभयो, ‘सिमावर्ती क्षेत्रका बाँध, जसबाट नेपालको भूमि डुबानमा परेको छ त्यो कुरा संयुक्त टोलीले हेर्ने विषयतर्फ कार्य गर्न सक्छौँ ।’

प्रधानमन्त्री ओलीले सरकारले चुरे दोहन गर्न नखोजेको पनि स्पष्ट पार्नुभयो । सरकार चुरेको संरक्षणका लागि ठोस योजनाका साथ लागेको उहाँको भनाइ छ । उहाँले नयाँ बाटो बनाउने काम जोखिमयुक्त भएकाले भदौँसम्म नयाँ बाटो खन्ने तथा पहाडहरु भत्काउने काम रोक्नुपर्ने पनि बताउनुभयो ।

टिप्पणीहरू