यौन दुर्व्यवहारमा कूटनीतिज्ञ घर फिर्ता

यौन दुर्व्यवहारमा कूटनीतिज्ञ घर फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीको सबैतिर प्रचण्डमुक्त स्थिति बनाउने संकल्पसहित तानिएका एकजना राजदूत लामो समयदेखि जहाँको त्यहीँ अड्किएका छन् ।

अष्ट्रेलियाका लागि महेश दाहाल पोहोर सालको जेठ २५ गते नियुक्ति सिफारिस भएर यसपालिको वैशाख २१ मा बर्खास्तीमा पारिएका थिए । माओवादी अध्यक्ष प्रचण्डको कोटामा राजदूत बनाइएका उनको १० महिने कार्यकाल सकिएको डेढ महिना बित्दा पनि स्वदेश फर्किन सकेका छैनन् । कुनै पनि देशमा कार्यरत कूटनीतिक सेवाका कर्मचारीलाई कामबाट फर्काइँदा सामान्यतया २१ दिनको म्याद दिइन्छ ।

तर, महेशले पाएको म्याद नसकिँदै कोभिड महामारीको दोस्रो लहरका कारण जनजीवन अस्तव्यस्त हुन पुग्यो । र, जहाज नचलेका कारण उतै अड्किएका छन् । घरबाहेक राजदूतबापत उनले पाउने अन्य सुविधा अहिले छैन । महेशको ठाउँमा दोस्रो वरियताकी काउन्सिलर द्रौपदा सापकोटाले कार्यवाहक राजदूतको भूमिका पाएकी छन् । उनी चार्ज डी अफेयर्स (सिडिए) का रुपमा न्युजिल्याण्डलगायतका मुलुक पुगेर भर्खरै सिड्नी फर्किएकी छन् ।

उता, साउदी अरेबियामा राजदूतको चार वर्षे कार्यकाल सिध्याएर महेन्द्रप्रसाद सिंह राजपुत जुन ७ तारिख स्वदेश फर्किएका छन् । त्यहाँ गत जेठ १ गते सिफारिस गरिएका राजदूत मेराज मुसलमानको नियुक्ति प्रक्रिया बाँकी रहँदा कर्मचारीले दूतावास चलाइरहेका छन् । सिफारिस गरिएका मेराज एमालेसम्बद्ध मुस्लिम इत्तेहाद संगठनका पूर्वअध्यक्ष हुन् । त्यसदिन सिफारिस गरिएका ११ राजदूतहरुको संसदीय सुनुवाइका निम्ति असार तेस्रो साता ४५ दिने म्याद गुज्रिन्छ । त्यो दिनसम्म संसद बहाली नभएमा उनीहरु स्वतः नियुक्त हुन्छन् । त्यसदिनको ११ सिफारिसमध्ये तीनजना प्रधामन्त्रीको गृहजिल्ला झापाबाट मात्रै परेका छन् ।

चारपानेका प्रा.डा. नारायणप्रसाद संग्रौला म्यानमारका लागि, दमककी सुमित्रा भण्डारी डेनमार्क र महारानीझोडाका युवराज कार्की बहराइनका निम्ति सिफारिस गरिएका थिए । अहिले म्यानमारमा रहेका राजदूत भीम उदास पनि चार वर्षे कार्यकाल पूरा गरेर यसै साता फिर्ता आउँदैछन् ।

उता, संयुक्त अरब इमिरेट्सको आबुधावीस्थित दूतावासमा कार्यरत एकजना नासु रामविनय राय चारित्रिक अभियोग लागेर तानिएका छन् । उनीमाथि नेपालीसँग विवाह गरेर पतिको मुलुक आउनका लागि भिसा आवेदन गर्न पुगेकी एक फिलिपिनो महिलालाई मुख छाडेको र यौनजन्य दुव्र्यवहार गरेको उजुरी परेको छ । उनलाई तान्नका लागि परराष्ट्र मन्त्रालयबाट चिठी गएको दुई हप्ता भयो । २१ दिनमा आउनु भन्ने उर्दी छ ।

टिप्पणीहरू