परराष्ट्रमन्त्री बनिसकेका राजनको नाम एक्कासी काटकुट

परराष्ट्रमन्त्री बनिसकेका राजनको नाम एक्कासी काटकुट

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको नाम पछिल्लो मन्त्रिमण्डल पुनर्गठनमा परराष्ट्र मन्त्रीको सूचिबाट अन्तिम क्षणमा हटाइएको खबर छ । नेपाल-भारत प्रबुध्द व्यक्तिहरूको समूह (इपीजी) मा नेपालका तर्फबाट राखिनुभएका भट्टराईलाई त्यो बेलादेखि नै बालुवाटारनिकट एउटा टोलीले रुचाएको थिएन । अहिले परराष्ट्रमन्त्रीबाट चुकेपछि उक्त टोलीले राहतको सास फेरेको स्रोतको दाबी छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा काँग्रेसका गगन थापासँग हारे पनि उहाँलाई प्रधानमन्त्रीले काखी च्यापेको आरोप त्यहिँका कमरेडहरूले लगाउँदै आएका हुन् । राजनको हालीमुहाली भयो भन्दै बेलाबखत ती आगो हुने गरे पनि मुख खोल्न भने सकेका थिएनन् ।

नेकपा विप्लव समूह,सीके राउत र थरुहटसँग भएका वार्तामा भट्टराईको अग्रसरताप्रति केही केहीमा ईर्ष्या थियो भन्नेहरु पनि छन् । अहिले उनैलाई विदेश मामिलाजस्तो महत्वपूर्ण र ठूलो विभागको प्रमुख बनाइएकोमा पनि ठूला भनिँदै आएका नेताहरूको असन्तुष्टि चुलिएको बताइन्छ ।

उक्त विभागको प्रमुखमा पछिल्लो ३० वर्ष झलनाथ खनाल, माधवकुमार नेपाल र केपी ओली मात्र घुमिफिरी प्रमुख हुनुभएको थियो । त्यसो त पार्टी प्रमुख र प्रधानमन्त्री बनिसकेका व्यक्तित्वले नेतृत्व गरेको विभाग राजनको जिम्मामा दिएकाले पनि परराष्ट्रमन्त्री भइसकेका बालुवाटारका केही नेतालाई नपचेको हुनसक्छ ।

अहिले विदेशमा रहेका पार्टी कमिटीहरुको इञ्चार्ज पनि राजनलाई नै बनाइएको छ । पहिले त्यो जम्मा विन्दा पाण्डेसङ्ग थियो । अहिले पाण्डेलाई पुस्तकालय विभागमा थन्काइएको छ ।

दुई साताअघि जसपाको महन्थ र राजेन्द्र समूहलाई भित्र्याउने क्रममा प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको गतिलो उम्मेदवार नपाएपछि राजनलाई नै बनाउने वचन दिनुभएको थियो । तर,सपनामा पनि नचिताइएका रघुवीर महासेठलाई उपप्रधान तथा परराष्ट्र मन्त्री दिइएपछि सबै तीन छक परेका छन् । अझ अचम्म त के भने रघुवीरले झण्डै गृह फुत्काइसक्नुभएको थियो ।

सबैतर्फबाट ठिक्क पारिएको अवस्थामा राजनले किन मन्त्री बन्न पाउनुभएन त ? भनेर सोधिएको जिज्ञासामा मन्त्री बन्नबाट बन्चित असन्तुष्ट समूहका एक जना नेताले भन्नुभयो, ‘प्रधानमन्त्री के कुराले उहाँलाई मन्त्री बनाउन अघि बढ्नुभयो थाहा छैन । तर,उहाँमा संसद पुनर्स्थापना हुन्छ भन्ने विषयले राम्रैसँग घर गर्न थालेको छ । त्यसैले जसपातिरका सर्वेन्द्रनाथ शुक्लालाईसमेत रोक्न गैरसांसदलाई मन्त्री नबनाउने कार्ड फ्याँकिदिनुभयो । पुनर्स्थापित प्रतिनिधिसभामा एक एक बहालवाला माननीयको महत्त्व छ भन्ने उहाँलाई राम्रै जानकारी छ ।’

त्यति गर्दा पनि उहाँ भट्टराईको हकमा उक्त नियम लागू नहुने भन्दै हुनुहुन्थ्यो । तर,अन्तिम क्षणमा कसैले संविधानको स्पष्ट व्यवस्थाबारे प्रधानमन्त्रीलाई सम्झाइदियो । प्रधानमन्त्रीलाई सुनाइएको धारणा उद्धृत गर्दै स्रोत भन्छ ‘संसद पुनर्स्थापना भयो भने त्यस्तो बेला राजनको मन्त्री पद क्षणभरमा जान्छ । किनभने ०७४ मा काठमाडौं ४ बाट गगन थापासँग राजनको हार भएको थियो । निर्वाचन हारेकाले उक्त संसदको कार्यकालभरि मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था छ ।’

त्यो सुनेपछि प्रधानमन्त्री ओलीलाई च्वास्स पर्नु स्वाभाविक हो । किनभने यसपटक पनि संसद पुनर्स्था पना हुने संकेत पाइसक्नुभएको छ । उहाँले चुनाव नहुन्जेलको लागि मात्र आफूले दुई तिहाई जितेको अनुमान गर्दै आउनुभएको हो । तर, वास्तविकतामा न संसद विघटन सदर हुनसक्छ न चुनाव नै हुने स्थिति छ ।

टिप्पणीहरू