झलनाथका नाममा उठाइएको झमेला

झलनाथका नाममा उठाइएको झमेला

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको नामबाट हिजो सार्वजनिक वक्तव्यलाई लिएर एमालेको माधव नेपाल खेमामा तरंग पैदा भएको छ । उपचारका लागि नयाँ दिल्ली जानुअघि खनालले पार्टी एकताका पक्षमा उभिन आग्रह गर्दै हिजो जारी गरेको वक्तव्यको आधिकारिकतालाई लिएर नेपाल समूहका केही नेताले आशंका गरेका छन् ।

अघिल्लो दिनसम्म अध्यक्ष केपी ओलीसँग मिल्न नसकिने निष्कर्ष सुनाउनुभएका खनालले एकाएक पार्टी एकताका लागि आव्हान गरेपछि वक्तव्यको आधिकारिकतामाथि प्रश्न उठेको हो । वक्तव्य सार्वजनिक भएलगत्तै नेपाल समूहका नेता जगन्नाथ खतिवडाले खनालको हस्ताक्षर दुरुपयोग भएको हुनसक्ने टिप्पणी गर्नुभएको थियो । वक्तव्यको आधिकारिकतामाथि आशंका गर्दै सोही समूहका अर्का नेता डा. विजय पौडेलले खनालको नामबाट अरु कसैले वक्तव्य जारी गरेको हुनसक्ने दाबी गर्नुभएको थियो ।

खनालले हिजो दिल्ली प्रस्थान गर्नुअघि जारी गरेको वक्तव्यमा जनताको चाहना र अपेक्षा विपरित गलत प्रवृत्तिका नेताहरुको इगो र बदलाको भावले पार्टीमा गम्भीर संकट उत्पन्न भएको भन्दै धैर्य र संयमका साथ पार्टी एकता जोगाउन पार्टी पंक्तिलाई आह्वान गर्नुभएको थियो ।

विश्वनाथ प्याकुरेल,भोला पोख्रेल,प्रेमलकुमार खनालसहित झण्डै डेढ दुई सयका अगाडि अघिल्लो दिन बोलेको कुराको खण्डन हुनेगरी भोलिपल्टै वक्तव्य आएपछि शंका लाग्नु स्वभाविक हुने नेपाल पक्षका धेरै नेताको भनाइ छ ।

नेपाल समूहका नेताहरुले अघिल्लो दिनसम्म खनालले लिएको अडान र हिजोको वक्तव्यको भाषा हेर्दा आशंका पैदा गरेको बताएका छन् । खनाललाई बाध्य बनाएर वक्तव्यमा हस्ताक्षर गराइएको हुनसक्ने नेता खतिवडाको आशंका छ । ‘दुई दिनअघि पनि मेरो उहाँसँग कुराकानी भएको थियो । पार्टीलाई दक्षिणपन्थी धारबाट जोगाउन पर्छ,प्रतिगमनको मतियार बन्नुहुँदैन भन्ने उहाँको प्रष्ट अडान थियो । हिजो एकाएक त्यस्तो वक्तव्य आएपछि अचम्म लागेको छ’,उहाँले भन्नुभयो ।

वक्तव्यमा खनालकै हस्ताक्षर प्रयोग भएपनि त्यसको पृष्ठभूमिले षड्यन्त्र देखिएको उहाँको भनाइ छ । बिरामी परेर अस्पताल भर्ना भएको व्यक्तिलाई भावनात्मक कुरा गरेर जबर्जस्ति वक्तव्यवाजी गराइएको भन्दै उहाँले षड्यन्त्रको आशंका गर्नुभएको हो । ‘वक्तव्यको राजनीति गर्नै पर्दैन, एजेण्डाको सम्बोधन गरे सबै समस्या हल हुन्छ’,नेता खतिवडाले भन्नुभयो, ‘सर्वोच्चको आदेशको फैसलालाई सम्मान गरेर विषयवस्तुमा खुला सम्बाद गरे भैहाल्छ । यो वक्तव्यको राजनीति गरेर किन नाटक गरेको हो अचम्म लागेको छ ।’

विज्ञप्ति आउनुअघि के-के भए

लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएका खनाल स्वास्थ्यमा थप समस्या आएपछि अस्ति बिहानै थापाथलीस्थित नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । खनाललाई भेट्न नेपाल पक्षका चार नेता भीम आचार्य,योगेश भट्टराई,सुरेन्द्र पाण्डे र गोकर्ण बिष्ट सबैभन्दा पहिले अस्पताल पुगेका थिए । जानकार स्रोतका अनुसार आचार्यको योजनामा खनाललाई एकताको पक्षमा उभ्याउने र हस्ताक्षर गराउने वातावरण बनाइएको हो ।

स्रोतका अनुसार खनाल अस्पताल भर्ना हुनुअघि नै अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भारत लैजाने तयारी भैरहेको कुरा चुहाएका थिए । तर,माधव नेपाल लगायतका नेताहरुलाई भने धेरैपछि मात्र जानकारी दिइएको थियो । माधव नेपालभन्दा अघि ईश्वर पोखरेल,विष्णु पौडेल लगायतका नेता अस्पताल पुगिसकेका थिए । त्यतिबेलै पौडेलले खनाललाई केपी ओलीसँग फोनमा कुरा गराउनु भएको थियो । ओलीसंगको संवादमा खनालले एकताका लागि प्रयास गर्न आग्रह गरेको समाचार बाहिरिएको थियो । त्यसलगत्तै खनालको वक्तव्य आएको हो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीसंगको छलफलपछि नेपाल समूहका आचार्यले पोखरेल र पौडेललाई अस्पतालमा बोलाएर खनाललाई भावनात्मक रुपमा प्रभाव पारेपछिको परिणामका रुपमा वक्तव्य आएको हो ।

अस्पताल भर्ना हुनु अघिल्लो दिन पेशागत महासंघको बैठकमा खनालले भनेका कुरा सुनाउँदै स्रोतले दाबी गर्यो, ‘दुई दिन अघिसम्म उहाँको अभिव्यक्ति, उहाँले दिएको प्रतिक्रिया र त्यो वक्तव्य कहीं कतै मिल्दैन । हस्ताक्षर उहाँकै भएकाले हामीले केही भन्ने कुरा त भएन तर यसका पृष्ठभूमि हेर्दा गम्भीर षड्यन्त्र लुकेको देखिन्छ ।’

खनालको हस्ताक्षर भए पनि पेटबोली एकताका पक्षधर भनिएकाहरुको आएको स्रोतको भनाइ छ । आचार्यले अर्थमन्त्री विष्णु पौडेललाई बोलाएको र पौडेलले सरकारका तर्फबाट उपचार गर्ने लगायतका कुरा गरेर खनाललाई मनोवैज्ञानिक प्रभाव पारेको स्रोत दाबी गर्छ ।

‘चलाखी गरेका हुन् भन्ने प्रष्ट छ । त्यो विज्ञप्तिको भाषा र शुध्दाशुध्दि पनि जेएन कमरेडले हेर्नुभयो जस्तो लाग्दैन ।” हस्ताक्षर खनालको तर लेखाइको भाषा भतिजी निरा खनालका पति भीम आचार्यको भएको श्रोत बताउँछ ।

पेशागत महासंघको बैठकमा के भन्नुभएको थियो खनालले

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना हुनु अघिल्लो दिन एमालेको नेपाल निकट पेशागत महासंघको बैठक बसेको थियो । प्रमुख वक्ताका रुपमा बैठकमा खनालले लामो मन्तव्य राख्नुभएको थियो ।

बैठकमा खनालले सधैंजस्तै कडा अडानका साथ आफ्ना कुरा राख्नुभएको सहभागी एक नेताले बताएका छन् । केपी ओलीले कम्युनिष्ट आन्दोलन बर्बाद पारेको भन्दै खनालले त्यसका विरुद्ध लड्न आग्रह गर्नुभएको थियो । पार्टीको अन्तरविरोध र एकताको सम्भावनाबारे धारणा राख्दै उहाँले आफ्नो समूहका केही युवा नेताको भूमिकाको समेत चर्को आलोचना गर्नुभएको थियो ।

नाकमा अक्सिजन राखेरै बैठकमा सहभागी हुनुभएका खनालले आशा गरेका युवाहरु अन्योलग्रस्त हुँदा आफूलाई चिन्ता लागेको बताउनुभएको बताइन्छ । विश्वनाथ प्याकुरेल,भोला पोख्रेल,प्रेमलकुमार खनालसहित झण्डै डेढ दुई सयका अगाडि अघिल्लो दिन बोलेको कुराको खण्डन हुनेगरी भोलिपल्टै वक्तव्य आएपछि शंका लाग्नु स्वभाविक हुने नेपाल पक्षका धेरै नेताको भनाइ छ ।

नेकपामा हुँदादेखि नै पार्टीभित्रको अन्तरविरोधमा नेता खनालले अध्यक्ष ओलीको कडा आलोचना गर्दै आउनुभएको छ । खनालले नै ओलीलाई दुवै पदबाट हटाउनुपर्ने बहस थाल्नुभएको थियो । नेपाल समूहमा नयाँ पार्टी गठनबारे फरक-फरक मत रहेको भनिएका बेला खनालले नै नेकपा एमाले (क्रान्तिकारी) पार्टी गठन गर्नुपर्ने मत ल्याउनुभएको थियो ।

टिप्पणीहरू