सेनापति हुनेलाई क–कसले सघाउँदै

सेनापति हुनेलाई क–कसले सघाउँदै

पहिला–पहिलाजस्तो सट्याकसुटुक्क हैन, यसचोटि बहालवाला प्रधानसेनापति जाने र नयाँ आउने कुराले जंगी अड्डालाई दुई महिना पहिल्यैदेखि व्यस्त बनाएको छ ।

पूर्णचन्द्र थापा अनिवार्य अवकाश हुने भदौ २४ मा हो । यसअघिकाले प्रधानमन्त्री र राष्ट्रपतिहरुसँग खुसुखुसु कुराकानी गर्दै बरबुझारथ गर्थे । तर, अब सेनाका विभाग विभागकै बीचमा बुझारथ गराइँदैछ । थापाको कार्यकाल हजार दिन पुगेबाटै बुझाउने क्रम शुरु भएको हो । उनीचाहिँ साउन २४ गतेदेखि एक महिने बिदामा बस्ने भएका छन् । भदौ २४ मा लेफ्टिनेन्ट जर्नेल प्रभुराम शर्मालाई औपचारिक रुपमा पदभार बुझाउने भएका छन् ।

सेनाका ठूला–साना विभागहरुले पहिला गर्न नसकेका, अब निरन्तरता दिनुपर्ने र नयाँ काम के–के गर्ने भन्ने विषय निर्धारण गर्नका निम्ति गत शुक्रबार निर्देशन भएपछि जंगी अड्डामा कार्यरत मेजरसम्मका हाकिमहरु व्यस्त भएका छन् । पहिला–पहिला अवकाशपूर्व प्रधानसेनापति हेलिकोप्टर लिएर सातै प्रदेश पुग्ने, उपहार संकलन गर्नेजस्तो परेड चल्थ्यो । तर, पूर्णचन्द्रले त्यो परम्परा तोडेका छन् । कुनै पनि युनिटमा दोहो¥याएर नजाने नीति उनले लिएको देखियो ।

प्रभुराम शर्मासँग अहिले एक फुल कर्णेल र केही प्रमुख सेनानी टिममा छन् । अब चिफ हुँदाको सचिवालय चयन गर्ने काम पनि भित्रभित्रै थालिएको बताइन्छ । उनलाई सघाउन धनकुटास्थित २ नं. बाहिनीपति चोक ढकाल र डिपिआरका सन्तोषबल्लभ पौडेलहरुलाई खटाइसकिएको छ । अब मेजर जनरलमा पदोन्नतीका लागि बाबुराम श्रेष्ठ तयार छन् ।

सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयमा कार्यरत पहिला २७ बाहिनी उनी रहँदा भर्ना छनौटका क्रममा गाउँले टोलीलाई सहयोग गरेपछि केही अप्ठेरोमा परेका थिए । त्यो घटना बल्झियो भने पदोन्नतीमा समस्या हुने सम्भावना छ । प्रचण्डले प्रधानसेनापति नियुक्त गरेर पनि बहाली हुन नपाएका, हालै दिवंगत जर्नेल कूलबहादुर खड्काका साढुभाइ सुरेश बानियाँहरु पनि बढुवाको लाइनमा छन् । भावी प्रधानसेनापति प्रभुरामको सहयोगी महासेनानीका रुपमा खटिएका छन्, भर्खरै हायर कमाण्ड गरेका पवन खत्री । पहिला प्रचण्ड प्रधानमन्त्री हुँदा उनी सुरक्षा प्रमुख थिए । यससँगै नयाँ प्रधानसेनापतिको पहिलो संबोधनमा भन्ने कुराहरुको ड्राफ्ट पनि गर्न थालिसकिएको छ ।

शशिभवन सफाचट

पूर्णचन्द्र थापाले सैनिक जीवनबाट बिदा लिने क्रममा ललितपुरको झम्सिखेलस्थित सरकारी आवास ‘शशिभवन’ छाड्ने नै भए । तर, उनले यसचोटि त्यो निवास छाड्नु चार–पाँच दिनअघि नै सरसफाई र सामानहरुको लेखाजोखा राखेर मुख्यालयलाई विवरण दिँदै छन् । पहिला–पहिला प्रधानसेनापति फेरिँदा शशिभवनका राम्रा–राम्रा सामानहरु उनीहरुको घरमा पुग्थे । तर, यसचोटि सबै त्यहीँ छाडेर, अनि सफा गरेर जाने योजना बनाइएको छ । भनिन्छ, शशिभवनभित्र पाँच–सात करोडको अचल सम्पत्ति छ ।

टिप्पणीहरू