यो के देख्नुपर्‍यो नि गृहमन्त्रीज्यू

यो के देख्नुपर्‍यो नि गृहमन्त्रीज्यू

सामान्यतया प्रहरीमा कार्यालय प्रमुखको जिम्मेवारी एक बर्षको हुने गर्दछ । तर रुपन्देहीमा एकजना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा २७ दिनमै भयो । त्यसको मूल कारण उनले गलत काम गरेर, विभागीय कारबाहीमा परेर होईन कि अबैध गुट्खा नियन्त्रणमा लिएको हुनाले भएको बताइन्छ ।

इन्स्पेक्टर कृष्णप्रसाद घिमिरेले निषेधाज्ञाको समय गुट्खा (सूर्तिजन्य पदार्थ) लोड गरेको गाडीलाई भैरहवाको बुद्ध चोकबाट नियन्त्रणमा लिए । पछि चेकजाँच गर्दा अन्तशुल्कःको स्टीकरसमेत भेटिएन । त्यसपछि उक्त गुट्खाको विषयमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाए ।

उनले गुट्खा जिप्रका पठाएकै बेला उक्त उद्योगका म्यानेजरले भनेको कुरा त्यतिबेला प्रहरी निरीक्षक घिमिरेसंगै रहेका एक जना प्रहरी कर्मचारीले सुनाए, ‘सर, तपाईंले गलत ठाउँमा हात हाल्नुभयो । यसको मूल्य महँगो पर्नेछ ।’

नभन्दै भयो पनि त्यस्तै । उनले राजस्व ठगी गरेर अन्तशुल्क स्टीकर नलगाई बिक्री बितरणकोलागि लैजाँदै गरेको गुट्खा समाउँदा स्याबासी पाउनुपर्नेमा उल्टै कारबाहीमा परे । उनलाई तत्काल प्रहरी प्रधान कार्यलयले प्रदेश प्रहरी कार्यालय सरुवा ग¥यो ।

घटना सुन्दा कुनै फिल्मको कथा जस्तो लाग्छ तर यो सत्य हो । योगेन्द्र ढुंगानाको नाममा आन्तरिक राजश्व कार्यालयमा दर्ता रहेको विजार्ट फेगरेन्स नामको कम्पनीबाट अमृत ब्राण्डको गुट्का उत्पादन हुदै आएको छ । उक्त उद्योग रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ बसडिलवामा रहेको छ ।

ढुंगानाको नाममा उद्योगमा पूर्वी नेपालका किरण पोखरेलको पनि लगानी छ । स्रोतका अनुसार उक्त उद्योगमा वर्तमान सरकारका उपप्रधानमन्त्री रघुविर महासेठ र एआईजी विश्वराज पोखरेलका नातेदारको समेत लगानी रहेको बुझिएको छ ।

गुट्खा नियन्त्रणमा लिएपछि प्रहरी निरीक्षकको रातारात सरुवा भएको हो । उच्च ओहोदाका नेता तथा कार्यकर्तालाई मन नपरे वा आफु अनुकूल नभएमा कर्मचारी सरुवा गराइदिने प्रचलन नेपालमा नौलो होइन । यस खालको राजनीतिक प्रवृत्तिबाट केही महिनाअघि रुपन्देहीका प्रजिअ, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एसपीको एकैपटक भएको सरुवा ताजै छ ।

घिमिरे वडा प्रहरी कार्यालय भैरहवामा गत बैशाख १० गते दरबन्दीसहित हाजिर भएका थिए । तर, एक महिनापनि नपुग्दै जेठ ६ गते रमाना लिएर जिल्लाबाटै बाहिरिनुप¥यो । त्यही कार्यालय हो, जहाँ उनीभन्दा अगाडिका राजेन्द्र अधिकारी २७ महिनासम्म अडिएका थिए ।

लकडाउन लागेकै बेला गत जेठ २ गते भैरहवाको बुद्ध चोकमा लु १ क ३६४९ नम्बरको मिनी ट्रकसहितको सामान उनले नियन्त्रणमा लिएका थिए । जसको मूल्यांकन २१ लाख रुपैयाँ र करिब ३५ लाखको गाडीको मूल्य छ । यस कम्पनीमा शुद्ध प्लस ब्राण्डको भारतीय गुट्खा सञ्चालकसमेतको लगानी रहेको र अर्बौं रुपैया“को कारोवार हुने गरेको बताइन्छ ।

यसले गर्दा प्रहरी अधिकृतहरु सरुवा र कारबाहीमा पर्नुभन्दा बरु नदेखेझैं गर्ने मुडमा देखिएका छन् । यसले गर्दा भारतसंग साढे ५९ किलोमिटर खुल्ला सिमाना रहेको रुपन्देहीमा यतिबेला चोरी, तस्करी पनि बढेर गएको छ ।

टिप्पणीहरू