कसरी बन्थ्यो यसो नगरी क्याबिनेट !

कसरी बन्थ्यो यसो नगरी क्याबिनेट !

मन्त्रिपरिषद्को १८ औँ पुनर्गठनमा नैनकला थापालाई सञ्चारमन्त्री बनाइएपछि ‘एमाले’ बनेका पूर्वमाओवादीबीचमै एक किसिमको तनाव शुरु भएको छ ।
बालुवाटार स्रोत भन्छ, त्यो काम झगडा परोस् भनेरै गरिएको हो । रामबहादुर थापा (बादल) पत्नी नैनकलालाई बादलले सिफारिस गरेर मन्त्री बनाइएको भनिएको छ । तर, स्रोत भन्छ, ‘बादललाई त उहाँ शपथमा जानु दुई दिनअघि मात्रै थाहा भएको हो ।’ घरकी पत्नी मन्त्री बन्ने भएपछि बादलले रोक्ने कुरा पनि भएन । तर, त्यही कुरालाई लिएर पूर्वसमूहबीच काटामार शुरु भएको छ ।

खासमा पुस ५ को संसद विघटन पक्षधरलाई बलियो देखाउनका लागि प्रधानमन्त्रीले बादल, टोपबहादुर, प्रभु, मणि, लेखराज, दावाहरुलाई साथ लिनुभयो । ‘उहाँहरु पोष्टरमात्रै हुनुहुन्थ्यो, भित्र त अर्कै फिल्म चलेको थियो,’ स्रोतले भन्यो, ‘पूर्वमाओवादीका कुनै पनि मन्त्रीले आफूले भनेजस्तो नियुक्ति, सरुवा–बढुवा गर्न पाएका थिएनन्, उहाँहरुलाई मन्त्रीको पद, सुविधा र भत्तामात्रै चाहिएको थियो ।’

नयाँ सत्तासमीकरण निर्माण गर्नुपर्ने र जसपाको महन्थ समूहलाई सरकारमा ल्याउनका लागि मन्त्रिपरिषद्बाट केही मन्त्रीलाई कि फकाएर, कि जे पर्ला–पर्ला भनेर हटाउनुपर्ने स्थितिको व्यवस्थापन कसरी गर्ने भनेर बालुवाटारमा छलफल चलेको थियो । ‘प्रधानमन्त्री आफैँले म दुबैथोक गर्नु नपर्ने गरी मिलाउँछु भन्नुभयो’, बालुवाटारस्रोत भन्छ, ‘माधव नेपालहरुले बागमती प्रदेशबाट राष्ट्रियसभा चुनावमा धोका दिने भएपछि अदालतबाटै फैसला गराएर उहाँहरुको मन्त्री पद समाप्त हुने बनाइयो ।’ अर्थात्, उपयोगिता सकिएपछि ती पात्रहरुलाई बोकेर हिँड्नु भारमात्र हो भन्ने मान्यताका आधारमा अदालतको फैसला आयो, नैनकला मन्त्री बनाइन् ।

स्रोत भन्छ, ‘अब उहाँहरु आफैले आफ्नो बाटो लिनुहुन्छ ।’ यदि अदालतले मार्गप्रशस्त नगरिदिएको भए कल्पना गर्नोस् त– ७ माओवादी, ११ मधेशी, आफूसहित १९ अनि मन्त्रिमण्डलमा जम्मा २५ सदस्यीय, प्रधानमन्त्रीले क–कसलाई, कहाँ कहाँ मात्रै व्यवस्थापन गर्नु ! वर्तमान खानेपानी मन्त्री मणि थापाको चित्त दुखाई त यतिमात्रै छ कि न प्रचण्डलाई चिन्न सकियो, न ओलीलाई जान्न पाइयो ।

टिप्पणीहरू