जताततै बाढी र पहिरो : बागमती, गण्डकी, कर्णाली र लुम्बिनी अति प्रभावित

जताततै बाढी र पहिरो : बागमती, गण्डकी, कर्णाली र लुम्बिनी अति प्रभावित

पछिल्लो केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढी र पहिरोका ३० भन्दा बढी घटना भएका छन् । सुरक्षा स्रोतका अनुसार हिजो र आज बिहानसम्म सबैभन्दा ठूला घटना सिन्धुपाल्चोक र मनाङमा भएका छन् । सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भएको छ ।

तीबाहेक अन्य जिल्लामा पनि बाढी र पहिरोले जनजीवन प्रभावित भएका छन् । बाढी पहिरोपछि अवरुद्ध भएका पहाडी जिल्लाका सडकहरुमा सिद्धार्थ लोकमार्ग, तम्घास–रिडी सडक खण्ड, खोड्पे–बझाङ, पूर्व पश्चिम लोकमार्ग, भीमदत्त सडक खण्ड, रिडी–बुर्तिवाङ सडक खण्ड, रिडी–बुर्तिवाङ जाने भित्री कच्ची सडक खण्ड मुख्य हुन् ।

यसैगरी जयपृथ्वी राजमार्गअन्तर्गत चैनपुर–खोड्पे सडक खण्ड, राप्ती लोकमार्ग, स्याङजा–गुल्मी सडक खण्ड, कालिकोट–तिला गुफा सडक खण्ड, बेनी–जोमसोम सडक खण्ड, गुल्मी–तम्घास सडक खण्ड, बुटवल–नारायणघाट सडक खण्ड र साँफे– मार्तडी सडक खण्ड पनि अवरुद्ध भएका छन् ।

त्यस्तै, बाजुरामा खोला तर्ने क्रममा बेपत्ता भएका एक बालकको शव आज फेला परेको छ । त्रिवेणी नगरपालिका ५ का कमल बुढाको तिमली खोलाले बगाएर मृत्यु भएको हो । कास्कीमा हाईड्रो पावरको निर्माण सामाग्री नै बगाएको छ भने मनाङको चामेमा बस्ती बाढी र पहिरोको जोखिममा परेकाले स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

उता, गुल्मीको मदाने गाउँपालिकामा एउटा घर डुबेको छ भने रुपन्देहीको रोहिणी गाउँपालिका ७ का केही स्थान पनि जलमग्न भएका छन् । पर्वतमा पहिरोले चार वटा घरमा क्षति पुर्याएको छ । गुल्मीमा वर्षाले घर भत्कँदा एक जना महिला घाइते भएकी छन् ।
त्यस्तै, दोलखा, पाल्पा, दाङ, बाग्लुङ, पूर्वी नवलपरासीमा पनि डुबान, पहिरोलगायतका घटना भएका छन् । पाल्पामा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ ।

उता जाजरकोटको कुशे गाउँपालिका ८ औलिजाका स्थानीय पशुचौपाया चराउन जलजला पाटन जाँदा अविरल वर्षा र हावाहुरीको चपेटामा परेका छन् । चराउन गएका ११ जनामध्ये चार जना सम्पर्कमा आएका छन् भने अन्य हालसम्म सम्पर्क विहीन रहेको बताइन्छ ।

त्यसक्रममा २२ वटा गाई १० वटा भैंसी र ५० वटा बाख्रा पनि मरेको खबर नेपाल प्रहरीले प्राप्त गरेको छ । सदरमुकामबाट ४ दिन पैदल यात्राको दूरीमा रहेको उक्त स्थानमा हालसम्म कुनैपनि सुरक्षा निकाय पुग्न सकेको छैन ।पशुचौपाया चराउन जाँदा बेखबर भएकाहरुमा २५ वर्षका विक्रम खड्का, २८ वर्षकी चनर्क खड्का, १८ वर्षका भविर्न खड्का, १२ वर्षे भीमबहादुर खड्का, १७ वर्षकी धनसरा खड्का, ४० वर्षका कृष्ण रोकाय र ३५ वर्षका दिलबहादुर खड्का हुन् ।

हिजो राती कास्कीको मादी १ होकुस्थित मादी खोलामा आएको बाढीले दुई वटा भेँडी गोठ बगाउँदा गोठमा रहेका २ सय ५० वटा भेँडा बगाएको छ ।
यता दाङको लमही ७, हसनापुरस्थित राप्ती दोभानमा गोठाला गएका चार जनालाई नदीमा आएको बाढीले अलपत्र पारेपछि सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर खनाल कमाण्डको टोलीले उद्धार गरेको छ ।

टिप्पणीहरू