पृथ्वीसुब्बाको त फागुनमै किचकिच नगरौं भन्ने सुझाव रहेछ

पृथ्वीसुब्बाको त फागुनमै किचकिच नगरौं भन्ने सुझाव रहेछ

प्रधानमन्त्री केपी ओलीको कदम र त्यसले राष्ट्रिय राजनीतिमा निम्त्याएको ध्रुवीकरणको पहिलो प्रहार गण्डकी प्रदेश सरकारमाथि पर्यो । एमाले नेतृत्वको गण्डकी सरकार ढल्नुमा राष्ट्रिय राजनीति मुख्य कारण बनेपछि पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बालुवाटारसँग रुष्ट भएको चर्चा छ । केन्द्रमा ओलीले चालेका कदम र उहाँका अडानकै कारण सरकार गुमाउन परेको भन्दै गुरुङ बालुवाटारको भूमिकाप्रति नाखुस रहेको बताइन्छ ।

त्यसो त,मुख्यमन्त्रीबाट बाहिरिएलगत्तै गुरुङले सार्वजनिक रुपमै राष्ट्रिय राजनीतिका कारण सरकार ढलेको र त्यसमा ओलीको कार्यशैली जिम्मेवार रहेको बताउनुभएको थियो । आफ्नै पार्टीका अध्यक्षविरुध्द गुरुङले गरेको टिप्पणीले ओलीप्रति उहाँको असन्तुष्टि कुन तहसम्म रहेछ भन्ने बुझ्न काफी हुन्छ ।

नेकपा हुँदै एमालेको शक्ति संघर्षमा प्रधानमन्त्रीले अनावश्यक अडान लिएका कारण प्रतिनिधिसभा विघटन भएको र त्यसको प्रभाव गण्डकी सरकारमा परेको गुरुङ्गको बुझाइ रहेको निकटस्थहरु बताउँछन् । गुरुङ्गको पछिल्लो अभिव्यक्तिले पनि त्यसैको संकेत गरेको छ ।नेकपा एक हुँदा कम्फर्टेबल सरकार चलाउनु भएका गुरुङ्गलाई सत्तापक्षबाट देखिने गरी असहयोग भएको थिएन । त्यसैले प्रतिनिधिसभा विघटनको कदमले पार्टी विभाजनको रेखा कोरेको र त्यसैका कारण प्रदेश सरकार अल्पमतमा परेको गुरुङ्गको विश्लेषण रहेको बताइन्छ ।

नेताहरुसँगको अनौपचारिक कुराकानीमा ओलीकै कारण सरकार गुमाउनुपरेको गुनासो सुनाउने गर्नुभएका गुरुङ्गले प्रतिनिधिसभा विघटनपछि वालुवाटारमा पुगेर ओलीलाई ‘आऽऽऽ, कति किचकिच गर्नु, अब छाडिदिऊँ…!’ भनेर त्यतिबेलै पद छोड्न सुझाव दिएको चर्चा थियो ।

प्रधानमन्त्रीका रुपमा ओलीका कारण राष्ट्रिय राजनीतिको गाँठो फुक्नुको सट्टा झनझन् जटिल ढंगले जेलिँदै जाने देखेर गुरुङ्गले त्यस्तो सुझाव दिएको निकटहरु दाबी गर्छन् । ‘हमेसा अरुका कुरा नसुन्ने ओलीले गुरुङ्गको कुरा पनि सुन्नुभएन । बरु ‘उपाय अनेक छन्,चूप लागेर बस्नुस् !’ भनेर रुखो जवाफ दिनुभयो’, गुरुङ निकट स्रोतले भन्यो ।

त्यसो त,बालुवाटार पुगेर ओलीका सामु निर्धक्कले आफ्ना कुरा भन्न सक्नु चानचुने कुरा थिएन । अहिले पनि ओलीका अगाडि निर्धक्कले आफ्नो कुरा राख्न सक्ने नेताहरु निकै थोरै रहेको बताइन्छ ।

टिप्पणीहरू