२ बालिकालाई जबरजस्ती करणी गर्ने भारतीय र गाँजा बोक्नेहरु पक्राउ

२ बालिकालाई जबरजस्ती करणी गर्ने भारतीय र गाँजा बोक्नेहरु पक्राउ

मोरङमा सात वर्षीया र चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना भारतीय पक्राउ परेका छन् । रतुवामाई नगरपालिका–६ कादुपाडा डेरा गरी बस्ने भारत अररिया सिक्टीग्राम वरुदा–२ घर भएका २० वर्षीय मोहमद अझरुदिनलाई हिजो प्रहरीले जबरजस्ती करणीको अभियोगमा पक्राउ गरेको हो ।

यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका–१८ भवानीपुरस्थित सडकमा रोकी राखेको प्रदेश–०१–००६ ख १८२८ नम्बरको ट्रकबाट ६५ किलोग्राम गाँजासहित ट्रक चालक मकवानपुर मनहरि गाउँपालिका–६ नयाँबस्तीका ५१ वर्षीय रामकुमार मोक्तान पक्राउ परेका छन् ।

प्रहरीले उक्त ट्रक खानतलासी गर्ने क्रममा क्याबिनभित्र लुकाइ राखेको गाँजा सहित चालकलाई पक्राउ गरिएको हो । यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० सिमाचोकबाट करिब ८० केजी गाँजा सहित मनहरी नयाँबस्तीका २५ वर्षीय सन्तोष आलेमगरसहित तीन जना पक्राउ परेका छन् ।

चितवनबाट बारातर्फ जाँदै गरेको ना.२ ख ५५७९ नम्बरको ट्रकलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित ट्रक चालक मगरसहित तीन जना पक्राउ परेका हुन् ।

उता, कञ्चनपुरको बेलौरी नगरपालिका–८, कलकत्ता बजारबाट ७ ग्राम ७ सय ६० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कृष्णपुर नगरपालिका–९, राजघाटका २४ वर्षीय लालबहादुर ऐर र २२ वर्षीय चन्द्रबहादुर साउद रहेका छन् ।

उनीहरु चढेको से.६ प ८०९९ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित मोटरसाइकल चालक ऐर र मोटरसाइकलमा सवार साउद पक्राउ परेका हुन् ।

टिप्पणीहरू