पहिरोले लुम्बिनी प्रदेशका अधिकांश सडक अवरुद्ध

पहिरोले लुम्बिनी प्रदेशका अधिकांश सडक अवरुद्ध

अविरल वर्षाका कारण खसेको पहिरोले लुम्बिनी प्रदेशका दर्जन बढी सडकहरु अवरुद्ध भएका छन् । बुटवल–नारायणगढ खण्डको देवदह नजिकै डाइभर्सन बगाउँदा मंगलबारदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग बुधबार पनि सुचारु हुने सकेको छैन ।

निरन्तर वर्षाका कारण वैकल्पिक सडकको अभावमा बुधबार साँझसम्म पनि राजमार्ग खुल्ने सम्भावना नरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेयले बताउनुभयो ।

यस्तै, सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा आधा दर्जन स्थानमा पहिरो खस्दा उक्त सडक पनि मंगलबारदेखि पूर्णरुपमा अवरुद्ध छ । यो खण्डको तिनाउ–५ कालिमाटी, तानसेन–८ को गौडापुल, जरेपिपल तथा तानसेन–१४ गाईघाटमा पहिरो गएको छ ।

गौडापुलमा पहिरोले ५० मिटर सडक पनि भत्काइदिएको छ । जसले गर्दा बुटवलदेखि पाल्पा हुँदै स्याङजा, पोखरा र गुल्मी, बागलुङतर्फको यातायात अवरुद्ध भएको डीएसपी पाण्डेले बताउनुभयो ।

उता, तानसेन–रिडी खण्डको हार्थोक, मालमूललगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । रिडी–तम्घास र रिडी–वामीटक्सार खण्डमा पनि ठाउँठाउँमा पहिरो खसेको छ ।

पाल्पा रामपुर पूर्वखोला १ लुम्छापमा, रम्भा–४ हुमिन, बगनासकालीको शेरालगायतका क्षेत्रमा पनि पहिरोका कारण आर्यभन्ज्याङ–रामपुर सडक अवरुद्ध छ ।

गोरुसिङ्गे–सन्धिखर्क सडकको फुदवाङ, प्युठान–भालुवाङ सडकको सरुमारानी–४ खहरेखोलामा पहिरो जाँदा ती सडक पनि बन्द भएका छन् । त्यसबाट रोल्पा, प्युठानको यातायात सेवा विच्छेद भएको डीएसपी पाण्डेले बताउनुभयो ।
पूर्वपश्चिम राजमार्गको बुटवल–नेपालगञ्ज खण्ड भने सुचारु रहेको छ । तर लगातारको मुसलधारे वर्षा नरोकिएकाले सकेसम्म यात्रा नगर्न ट्राफिक प्रहरीले सबैलाई आग्रह गरेको छ ।

टिप्पणीहरू