ललितपुरको रिङरोड झिलिमिली हुने

ललितपुरको रिङरोड झिलिमिली हुने

ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्रको चक्रपथमा पनि सडक बत्ति बाल्ने भएको छ । बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट बत्ति जडानका लागि महानगरपालिकाले त्रिपक्षीय सम्झौता गरेको हो । बालकुमारी–बल्खु सडक खण्डमा बत्ती जडानका लागि ललितपुर महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच मंगलबार त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

स्मार्ट सडक बत्ति जडानको प्रारम्भिक लागत करिब १७ करोड ३६ लाख रुपैयाँ रहेकोमा ललिपुर महानगरपालिकाले कुल लागतको ६० प्रतिशत, प्राधिकरणले ४० प्रतिशत र ललितपुर महानगरपालिकाले व्यहोर्ने ६० प्रतिशत रकममध्येबाट सडक विभागले ३ करोड रुपैयाँ व्यहोर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नगर प्रमुख चिरीबाबु महर्जनले शहरलाई उज्यालो बनाउनुका साथै राति हुने दुर्घटनालाई रोक्न पनि सडकमा बत्ति जोड्न लागिएको बताउनुभयो । उहाँले महानगरपालिकाभित्रका तर रिङरोड बाहिरका खोकना, बुङमती, हरिसिद्धी, सुनाकोठी, धापाखेलमा पनि स्मार्ट सडक बत्ति जडान गर्न टेण्डर प्रकाशित गरिसकेको जानकारी समेत दिनुभएको छ ।

यस्तै सडक बत्तिलाई सर्भर रुमबाट नियन्त्रण गरिने र सडक बत्ति वापतको शुल्क ललितपुर महानगरपालिकाले भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।

टिप्पणीहरू