मेलम्चीको बाढीमा बिदेशी पनि फसे,अरु के कति क्षति ?

मेलम्चीको बाढीमा बिदेशी पनि फसे,अरु के कति क्षति ?

गए रातीदेखि सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण मेलम्ची बजार र आसपासको क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । हेलम्बु गाउँपालिकाको अम्बाथानस्थित मेलम्ची नदीमा बाढी आउँदा केही विदेशी नागरिकसमेत बेपत्ता भएको बताइएको छ ।

मेलम्ची खानेपानी आयोजना साइट कार्यालयका डा. शम्भु कट्टेलका अनुसार आयोजनामा कार्यरत तीन जना चिनियाँ, चार जना भारतीय र तीन जना नेपाली कर्मचारी बिहानसम्म सम्पर्कमा आएका थिएनन् । हाल तीन जना नेपाली र एक जना भारतीय भने सम्पर्कमा आएका छन् ।

सम्पर्कमा आएका नेपालीहरुमध्ये बुटवलका रेशम सार्की,झापाका सोमप्रसाद घिमिरे र हेलम्बु सिन्धुपाल्चोकका चन्द्र लामिछाने हुन् । सम्पर्कमा आएका भारतीय नागरिक आलम हुन् । अन्य कमल महतो, विजय बसन्तरी र जिन्दई हालसम्म बेपत्ता छन् ।

त्यसैगरी चिनियाँ नागरिकहरुमा प्रोजेक्ट मेनेजर यु, लेखापाल जोन र कामदार सुङ यु पनि सम्पर्क बाहिर छन् । भर्खरै एकजना भारतीय हातखुट्टामा चोट लागेको अवस्थामा र एक जना चिनियाँ टाउकोमा चोट लागेको अवस्थामा फेला परेको बताइएको छ ।

अम्बाथानको चिनियाँ क्याम्प र मेलम्ची खानेपानी आयोजनाको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल नेपालको अस्थायी सुरक्षा पोष्टको ब्यारेक भवन सबै बगाएको छ । सशस्त्र स्रोतका अनुसार उक्त पोष्टको ७.६२ एमएमको ५० राउण्ड¸ हाइटेरा कम्प्लिट हेण्डसेट २ थान, त्यसको ब्याट्री ४ वटाका साथै त्यहाँ रहेका अन्य भाँडावर्तन र व्यक्तिगत सामानहरु समेत सबै बाढीले बगाएको छ ।

अहिले उक्त अस्थायी पोष्टलाई हेलम्बु गाउँपालिका १ स्थित गोल्मादेवी माध्यमिक विद्यालयको भवनमा स्थानान्तरण गरिएको छ । जहाँ सशस्त्र प्रहरी नायव निरीक्षक किरण नेपालको कमाण्डमा १५ जनाको टोली रहेको छ । बाढी पहिरोले वितण्डा मच्चाएपछि उक्त स्थानमा हाल सशस्त्रको नं. १६ गण, सिन्धुपाल्चोकबाट सशस्त्र प्रहरी उपरीक्षक अर्जुन खत्रीको कमाण्डमा ५१ जनाको टोली बिहान साढे ५ बजे खटिएको छ ।

प्रहरीका अनुसार हालसम्म स्थानीय ७ जनालाई बाढीले बगाएको पुष्टि भएको छ । स्थानीय क्युल बस्ने माधव भण्डारी, चुरेटार बस्ने गणेश ज्योती र शेरा बस्ने शेरा बस्ने वर्ष ६६ की टीकामाया खड्का र चनौटेका ज्ञानेन्द्र कक्षपतिलाई बाढीले बगाएको छ । त्यसैगरी चौतारा साँगाचोक गढी बस्ने सुरेन्द्र नेपाल र स्थानीय च्याङ्वा तामाङ र निजकी श्रीमती पनि बाढीमा बेपत्ता भएका छन् ।

प्रारम्भिक विवरणअनुसार बाढीले हेलम्बु, चिउरिखर्कको झोलुङ्गे पुल बगाएको छ भने टिम्बु सडकको पक्की पुल पनि बगाएको छ । त्यसैग्री नागोटेको सडक र पक्की पुल बगाएको बाढीले ७ वटा ट्राउट माछा फर्म पनि बगाएको छ । मेलम्ची नगरपालिकाको एउटा पक्की पुल पनि क्षतिग्रस्त भएको छ ।

टिप्पणीहरू