पार्किङमा राखिएको कारलाई खाल्डोले निल्यो (भिडियो)

पार्किङमा राखिएको कारलाई खाल्डोले निल्यो (भिडियो)

भारतको मुम्बईस्थित घाटकोपर आवासीय समाजको परिसरमा पार्किङमा राखिएको हुण्डाईको भेन्यु कारलाई खाल्डोले निलेको छ । सँगैका अरु सवारी साधन जस्ताको तस्तै अवस्थामा रहँदा उक्त कार एउटा खाल्डोमा बिस्तारै छिरेपछि बेपत्ता भएको हो ।

मुम्बईमा हालैको ठूलो वर्षापछि भएको उक्त घटनालाई कारका मालिक एक जना चिकित्सकले भिडियो खिचेका थिए । भिडियोमा कार विस्तारै खाल्डोभित्र खसेर केहि समयपछि गाएब भएको सजिलैसँग देख्न सकिन्छ । केही सेकेण्डमा कार अलप भएको कारण उक्त खाडल निकै गहिरो भएको अनुमान लगाउन सकिन्छ ।

तर प्रहरीले उक्त ठाउँमा पहिले नै गहिरो इनार रहेको आशंका गरेको छ । केही समयअघि स्थानीयले इनारमाथि ढलान गरेर कार पार्किङस्थल बनाएका बताइएको छ । घटनामा कुनै मानवीय क्षति भएको छैन । जमिनमुनिको पानीमा बेपत्ता भएको कारलाई १२ घण्टापछि प्रहरी, स्थानीय र दमकलको सहयोगमा क्रेन लगाएर बाहिर निकालिएको थियो ।

टिप्पणीहरू