पूर्वप्रधानमन्त्री झलनाथ खनाल नयाँ दिल्लीतिर

पूर्वप्रधानमन्त्री झलनाथ खनाल नयाँ दिल्लीतिर

एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारको लागि नयाँ दिल्ली लैजान लागिएको छ । नेपाल वायुसेवाको बिहान साढे ११ बजेको उडानबाट उहाँलाई एपोलो अस्पताल लैजान लागिएको हो ।

अस्पताल स्रोतका अनुसारका खनालको फोक्सोमा पानी भरिएको देखिएको छ । अघिल्लो महिना उहाँलाई कोरोना संक्रमण भएको थियो । अहिले फोक्सोमा पानी भरिनुलाई पोष्ट कोभिड भनिएको छ । त्यसका लागि नर्भिक अस्पतालका चिकित्सकहरुले एण्टीबायोटिक औषधि दिएका छन् ।

तर वहाँलाई ११ दिनदेखि ज्वरो पनि आएको छ । ज्वरो आउनुको कारण भने पत्ता लागिसकेको छैन । यसबीच सबै परीक्षण गरिएको छ । कतिपय परीक्षणको रिपोर्ट भने आइसकेको छैन । भाइरल इन्फेक्सनका कारण उहाँलाई लगातार ज्वरो आएको आशंका गरिएको छ ।

नेता खनाल केही आत्तिएका कारण नयाँ दिल्ली लैजान लागिएको स्रोतले बताएको छ । बिरामी आत्तिएपछि परिवारले उता लैजाने निर्णय गरेको हो ।
उहाँमा मिर्गौलासम्बन्धी पुरानो समस्या छ । त्यसैगरी उहाँको शरिरको माथिल्लो भाग हल्लिने रोग पनि अहिलेको समस्याको कारण नभएको बताइन्छ ।

टिप्पणीहरू