थवाङका गोरे दाइ, छाडी गयौ आज हामीलाई

थवाङका गोरे दाइ, छाडी गयौ आज हामीलाई

– नारायण नेपाल

गर्विलो इतिहास र क्रान्तिकारी शान बोकेको गाउँको नाम हो ‘थवाङ’ । स्थानीय खाम भाषामा ‘थ’ को अर्थ ‘ठाँटी’ र ‘वाङ’ भन्नाले ‘चौर’ भन्ने बुझिन्छ । वरिपरि ठाडो डाँडा बीचको समथर भूभागलाई ‘थवाङ’ भनिएको रहेछ । नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको एउटा आदर्श विम्व ’थवाङ’ । समाज, राजनीति र भूगोल अध्ययन गर्ने वैयक्तिक रुचि र थवाङप्रतिको जिज्ञासाले विद्यार्थी संगठनको अभियान सकेर फर्किंदा थवाङ पुग्ने साइत जुरेको थियो ।

सहकर्मी अमित घर्तीको सम्पर्क र माओवादी रोल्पा सचिव सुवाषको सहयोगले मेरो थवाङ यात्रालाई सहज बनायो । सिस्ने हिमालको हिमश्रृंखला र जलजला पहाडको काखमा रहेको एउटा सुन्दर बस्ती हो “थवाङ’ ।

“थवाङले शून्य मतदान मात्र गरेन,चुनावको प्रचार गर्न गएकी ओनसरी घर्तीलाई ‘मलामी बाजा’ बजाउँदै लखेट्यो ।”

मगर र दलित समुदायको त्यो गाउँ राज्यको हेपाहा र उत्पीडनकारी चरित्रकोविरुध्द क्रान्तिकारी किल्ला बनेर उभिरहेको छ अहिले पनि । अचेल झण्डै आधाजसो युवा भने थवाङको चिसो हावापानी बिर्सेर अथवा बिर्सन बाध्य भएर अरबको तातो बाफतिर भौंतारिरहेका छन् । केही युवा भने परम्परागत कृषि प्रणाली र इतिहास थाम्दै छन् गाउँमै । थोरै जना व्यापार,व्यवसायमा संलग्न छन् । थवाङ एउटा उच्च पहाडी श्रृङ्खलाको गाउँ हो तर यसले समाजको हरेक क्रान्तिकारी आन्दोलनमा एउटा नयाँ उर्जा र चेतनाको उद्घोष गरेको छ । थवाङ नयाँ उर्जा र चेतनाको संवाहक बनेको छ । नेपालको संसदीय व्यवस्था र त्यसका स्थानीय निर्वाचनलाई बहिष्कार र उपयोगको नीतिलाई राम्रोसँग बुझेको थवाङले पछिल्लो पटक दोस्रो संविधानसभाको निर्वाचनलाई शून्य मतदान गरेर दुनियाँलाई चकित बनाएको थियो । उसले प्रचण्ड,बाबुराम समेतले महिमा पण्डित गरेको संसदवादलाई अस्वीकार गरेको थियो ।

आफ्नो गौरव र साहसका कारण देशको राजनीतिक नक्साबाहिर पनि थवाङ अनुसन्धान,अध्ययन र जिज्ञासाको कारण बन्न गएको छ । थुप्रैका प्रश्न छन्– भियतनामको अजम्बरी गाउँझैँ एक्लै शीर ठाडो पारेर किन उभिन्छ यो अँध्यारो गाउँ ? थवाङलाई पञ्चायती व्यवस्थाले ‘आदर्श गाउँ’ घोषणा गरेर फुर्क्याउन खोजेकै हो । जनयुध्दकालमा मगरात राज्यको राजधानी बन्यो । केन्द्रीय जनसत्ताको राजधानीको भूमिका निर्वाह गर्यो । राम्रा इन्जिनियर तथा नेता बाबुराम भट्टराई उसबेला जनसत्ता प्रमुख थिए । उसबेला थवाङका कुनै घरमा पनि आधुनिक चर्पी थिएनन् । घरको माथि मान्छे र तल्लो तलामा बंगुरको बास हुन्थ्यो । काठमाडौंका नेवार बस्तिमा भर्याङमुनि मलमुत्र त्याग गरिरहेको हरेक बिहान थवाङमा माथ्लो तलाबाट त्याग गरेको मलमुत्र भुइँमा झर्न नपाउँदै बंगुरले क्वाप्लाक्क पारिसक्थे । जनसत्ता निर्माणपछि नयाँ बहस भयो,केही प्रयास भए तर थवाङको पुरानो अनुहार फेरिएन । नयाँ चेतनाले जरो गाड्न सकेन ।

“विप्लवले कहाँसम्म लैजान्छन्, त्यहाँसम्म जाने हो” उनले उज्यालो अनुहार पार्दै भनिहाले ।

सायद त्यसैले होला जनसत्ताको विघटन गर्दा थवाङले रुचाएन । तर निरुपाय बन्यो । घर रजिष्ट्रेशनको मुद्दा दुख्न थाल्यो । सहिद मार्ग टोलाएर बस्यो । लिवाङ–थवाङ सडक मार्ग बेवारिसे भयो । थवाङले राज्यको सौतेनी व्यवहारकाविरुध्द असहमति जारी राख्यो ।

पञ्चायतले थवाङलाई देशद्रोही गाउँ ठान्यो । सैनिक अपरेसन गर्यो । संसदीय व्यवस्थाले आतंककारी गाउँ ठान्यो । तर, थवाङ भने विद्रोही चेतना र प्रतिरोधी चेतना बोकेर आजपर्यन्त अनन्त यात्रामा छ ।

बर्मन बुढाहरू,सन्तोष मगरहरू, गोरे दाइहरूको खेति गरिरहेको छ । जनयुद्धका समयमा थवाङले ३३ जना सपुत गुमायो । ३४ जना गम्भीर घाइते भए । हरेक दिन युद्ध,गिरफ्तारी,भिडन्त थवाङको दिनचर्या बन्यो । काठमाडौँमा संसदीय व्यवस्थाको उदयसँगै थवाङमा भने नेपाली काँग्रेस र नयाँ मण्डले कहर भित्रिएको थियो । पचासको दशकमा सूचना र सञ्चारमा धेरै विकास भएपनि थवाङ तीबाट टाढा थियो । बेखवर थियो । राज्यआतंक चरम थियो । काठमाडौंको संसदीय प्रजातन्त्र रोल्पामा संसदीय फासीवादको अवतार बनेको थियो ।

अनि त्यतिबेला कवि मणि थापाले गाएका थिए –

“हाम्रो गाउँमा पुलिस काँग्रेस पसेर
झिटिझाम्टा गरिबका लगे लुटेर”

एकदिन थवाङका अगुवा र स्थानीयसँग हाम्रो छलफल चलिरहेको थियो– सहिद परिवारसँगको भेटघाटका क्रममा एकजना अगुवा गोरे दाइ (पूर्णबहादुर रोक्का) को घरमा पुगियो ।

गोरेदाइ थवाङकी प्रथम सहिद लली रोक्काका दाजु पनि हुन् । थवाङको प्रथम यात्रा र लली रोक्काको स्थापित व्यक्तित्वको निवासमा पुग्दा मलाई भने आफ्नै विद्यार्थीकालको गाउँको प्रसँग स्मरण भैरहेको थियो । जनयुध्दका प्रारम्भिक दिनमा एकदिन माओवादी कलाकार टोली हाम्रो गाउँको विद्यालयमा आएको थियो । उनीहरूको भाषण त सम्झना छैन तर उनीहरूले गाउँदै नाचेको एउटा गीत अझै सम्झन्छु –

“पूर्वमा रातो सलाम दिलमाया लामालाई
पश्चिममा रातो सलाम लली रोक्कालाई
मुठ्ठी कसेर, रगतको टिका लगाई शपथ खाएर”

महिला नेत्री लली रोक्कालाई २०५३ माघ ४ गते घरैबाट पक्राउ गरी सामूहिक बलात्कारपश्चात् माघ ५ गते हत्या गरिएको थियो । माघ ३ गते नै गोरे दाइलगायत ३ जना भूमिगत भएका थिए । २०३२ सालमा जलजलाबाट गोरे दाइसहित ५ जनाले कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका रहेछन् । आज जस्तो उसबेला थवाङ स्थापित गाउँ थिएन । बंगुरको कर्कश आवाज, मलमुत्रको अमिलो दुर्गन्ध र अँध्यारो बस्तिभित्रका दुःखी मान्छे । बस् यत्ति नै थियो थवाङको चिनारी ।

राज्य आतंकका लागि दलित र मगर हुनु नै पर्याप्त थियो । पुष्पलालले स्थापना गरेको ज्ञान र शानको दियो किरण र मोहनविक्रमले थवाङ पुर्याए । गोरे दाइले सुस्केरा हाल्दै भनेका थिए, “हामीले मोहनविक्रमको ज्ञानको झोला बोकेर हिँड्यौँ । एम.बी.ले छोडेपछि किरण आए । त्यसपछि प्रचण्ड आए । चार तयारीपछि निकै उत्साहसाथ काम गरियो ।”

उसबेला थवाङ जुरुक्कै उठेको थियो । विजयप्रति विश्वास र बलिदानको आदर्श थियो उनमा । “विडम्बना लाग्छ,पीडा हुन्छ, सबै उपलब्धी गुमेको छ । मन के ले बुझाउने खै ?” जलजलाभन्दा भारी मन पार्दै गोरे दाइ भन्दैथिए । हामी झन् भावुक भयौँ । मलाई एकोहोरो उनको अनुहार पढ्न कठिन–कठिन भएको थियो । कहरले चाउरी परेका गाला, मुजा परेको निधारभित्र कतै कुनामा आशाको दियो म देख्न सक्थेँ । मान्छेका सपना सजिलै मर्दोरहेनछ । राजनीतिक रुपमा एम.विदेखि किरण हुँदै प्रचण्डसम्म भोगेका गोरेदाइ । सहिद परिवार गोरेदाइलाई सम्झाउने शब्द मसँग थिएन । गोरे दाइ आफैँले मौनता चिरे । नयाँ आशा र सपनाका कुरा गरे । नयाँ नेतृत्व जन्मनैपर्ने कुरा गरे । आन्दोलनमा एउटाले आत्मसमर्पण गर्छ । अर्को उठ्दै गर्छ । यो समाज विज्ञानको नियम नै हो । तार्किक अर्थमा नियम मान्न जति सजिलो छ त्यति नै भोग्न कठिन हुँदो रहेछ । “विप्लवले कहाँसम्म लैजान्छन्, त्यहाँसम्म जाने हो” उनले उज्यालो अनुहार पार्दै भनिहाले । उनी उठेर एउटा पुस्तक ‘क्रान्तिकारी इतिहास बोकेको थवाङ’ हातमा थमाए ।

थवाङको विगत र वर्तमान जोड्ने प्रयास रहेछ त्यो पुस्तक । सामान्य लेखपढ मात्र गर्न सक्ने गोरेदाइमा थवाङको इतिहास र प्रवृत्तिको गहिरो ज्ञान महसुस हुन्थ्यो । इतिहास, भूगोल, संस्कृति र राजनीतिको समग्र समायोजन पुस्तकमा रहेछ । राज्य आतंक र प्रतिरोध गाथा समेटिएको रहेछ । आफूहरू थवाङ पुग्दा काठमाडौँ छुटेको र काठमाडौँ पुग्दा थवाङ बिर्सेकोले अब दुवैलाई जोडेर लड्ने धारणा छ माओवादी आन्दोलनको । समाज उपभोक्तावादबाट ग्रसित छ । बजारले मानवीय मूल्य निर्धारण गरिरहेको छ । खुला समाजमा विद्रोहका आधार प्रतिबन्धित समाजमा भन्दा फरक हुन आवश्यक छ । समाज र बजारको यस्तो अन्तरसम्बन्ध चिर्ने चुनौती आजका क्रान्तिकारीसामु उभिएको छ ।

थवाङमा नयाँ जोश, जाँगर भएका युवाहरू उत्पादन भएनन् भन्ने चिन्ता गोरेदाइमा देखेको थिएँ । पुराना योद्दाहरू धेरै छन् तर ती थकित गलित छन्-गोरेदाइको गुनासो हुन्थ्यो हामीसँग । थवाङको गौरव जोगाउन सबै थवाङवासीहरू तयार होलान् कि नहोलान् ? मुख्य प्रश्न हो यो । जुन गोरेदाइको चिन्ता पनि । गोरेदाइलाई जस्तै थवाङीहरूमा त्यसप्रति चिन्ता छ ।

दोस्रो संविधान सभाको निर्वाचन हुँदा थवाङले शून्य मतदान मात्र गरेन,चुनावको प्रचार गर्न गएकी ओनसरी घर्तीलाई ‘मलामी बाजा’ बजाउँदै लखेट्यो । जनयुद्धको आदर्शलाई विद्रुपीकरण गर्न, थवाङको मेख मार्न तिनै ओनसरीलाई नयाँ, पुराना संसदीय जोकरहरूले सभामुख बनाइदिए । थवाङले तिरस्कार गरेको प्रवृत्ति र पात्रहरूलाई सत्ताको केन्द्रमा उभ्याएर नयाँ,पुराना शासकहरूले थवाङलाई गिज्याए । चुनौती खडा गरिदिए । तर गोरेदाइलाई त्यसले छोएको थिएन । उनी दृढ थिए चट्टानझैँ । लाग्थ्यो गोरे जुगौँजुग यस्तै दृढ हुनेछन् । गोरे दाइलाई भेटेपछि मैले निश्चय गरेको थिएँ, थवाङ फेरि एकपटक उठ्न शक्ति सञ्चय गर्दै छ । अब थवाङ उठ्दा ऊ एक्लै उठ्ने छैन । थवाङबाट भागेका दुष्टहरूले काठमाडौंमा बास पाउने छैनन् । काठमाडौँ अपराधीले टाउको लुकाउने स्थान मात्र हुनेछैन । थवाङसँगै काठमाडौं पनि उठ्नेछ ।

अर्को दिन हामी फर्कियौँ । गोरे दाइहरूको चित्र हृदयमा घुमिरह्यो । मोबाइलमा पुरानो गीत घन्कियो –

“तिम्रै निम्ति बरु यो ज्यान गए गैजाला
तिमीसँग गहिरो माया बस्यो जलजला”

गोरे दाइको क्रान्तिको सपना पुरा भएको हेर्ने धोको बोकेरै फर्केको थिएँ । साँच्चै गोरे दाइले थवाङको गौरव जोगाउन सक्ने अर्का थवाङी तयार पार्न सके कि सकेनन् ? आज गोरेदाइको गलेको शरीरले धर्ती छोड्दै गर्दा क्रान्तिका सपनाहरूले अब जुर्मुराउलान् कि नाइँ ? गोरेदाइ,तिमीले छोडेर गए पनि तिम्रा पदचाप थवाङसँगै छन् । तिम्रो सपना मरेको छैन, मर्न दिनुहुन्न । गोरेदाइ, तिम्रो गौरवपूर्ण इतिहासलाई सलाम । तिम्रा क्रान्तिका सपनाहरूलाई सलाम । श्रध्दापूर्वक बिदाइ गोरेदाइ ।

टिप्पणीहरू