विपदको खतरा बढ्दो,सबै सुरक्षा निकाय सतर्क

विपदको खतरा बढ्दो,सबै सुरक्षा निकाय सतर्क

मनसुनमा आइपर्ने बाढी,पहिरो तथा डुबानलगायतका विपद व्यवस्थापनको लागि तयारी अवस्थामा रहेको तीनवटै सुरक्षा निकायले बताएका छन् । मंगलबार नेपाली सेना,सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रवक्ताहरुले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपद्का घटना बढ्ने जानकारी प्राप्त भएकाले व्यवस्थापनका लागि आफ्नो संगठन पूर्णरुपमा तयारी अवस्थामा रहेको बताएका हुन् । पूर्वतयारी,उद्दार,पुनर्स्थापना तथा राहतको काममा आफ्नो संयन्त्रलाई तयारी गरिएको उनीहरुको भनाई छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले सेनाले विपद् प्रतिकार्य योजना तयार पारेर काम शुरु गरिसकेको बताउनुभएको छ । विपद्का घटना हुने ठाउँको नक्साङ्कन गरी आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

७७ वटै जिल्लामा भएका गण तथा गुल्महरुबाट एक तिहाईको जनशक्तिलाई विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो । खतरायुक्त स्थानमा सेनासँग भएको आवश्यक स्रोत साधनसहित दक्ष जनशक्ति परिचालन गरिने पनि उहाँले बताउनुभयो ।

नेपाली सेनासँग तालिमप्राप्त दुईवटा विशेष युनिट रहेको उल्लेख गर्दै उहाँले ती युनिटलाई विपद्को समयमा परिचालन गरिने जानकारी दिनुभयो । जलसम्बन्धी उध्दारका लागि दुई सय वटा डुंगा तयारी अवस्थामा राखिएको समेत बताउनुभयो ।

विपदको समयमा अत्यावश्यक सामग्री ओसार–पसार तथा उद्धारका लागि पश्चिमको सुर्खेतमा र पूर्वको इटहरी वा विराटनगरमा हवाई साधन तयारी अवस्थामा राखिने पनि प्रवक्ता पौड्यालले बताउनुभयो ।

विपद प्रतिकार्यका लागि नेपाली सेनाले गृह मन्त्रालय, विपद् व्यवस्थापन प्राधिकरणलगायत सरोकारवाला विभिन्न निकायहरुसँग समन्वयमा काम गरिरहेको उहाँले जानकारी दिनुभएको छ । नेपाली सेनालाई उद्धारमा जाँदा कोभिड–१९ संक्रमणको जोखिम रहेकाले काममा जाँदा स्वास्थ्यसम्बन्धी प्रोटोकल अपनाउन प्रयास गर्ने उहाँले बताउनुभयो ।

साथै सेनालाई कोभिड–१९ विरुद्धको खोपमा पनि जोड दिने उहाँले बताउनुभयो । हालसम्म नेपाली सेनाका ५० हजार जवानले खोपको पहिलो मात्रा र २७ हजार जवानले दोस्रो मात्रा लगाइसकेको पौड्यालले बताउनुभयो ।

त्यसैगरी,सशस्त्र प्रहरी बलले पनि विपद्को प्रतिकार्य गर्न आफ्नो तयारी पूरा भएको बताएको छ ।प्रवक्ता राजु अर्यालले पूर्वतयारीका सम्पूर्ण काम पूरा गरिसकेको जानकारी दिनुभयो ।

सशस्त्रमा विपद् व्यवस्थापनको तालिम लिएका जनशक्ति १ हजार ९ सय १८ रहेको बताउँदै उहाँले उक्त जनशक्तिलाई प्रत्येक प्रदेशमा एक-एक समूह, उपत्यकामा दुईवटा र विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा दुई वटा गरी १० वटा समूह परिचालन गरिने उहाँले बताउनुभयो । त्यसबाहेक उपत्यकासहितका ८ वटा बाहिनी, गण,गुल्म,बिओपी स्तर र अन्य बेसहरुमा पनि विपद् व्यवस्थापनको लागि समूह तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।

सशस्त्रले तालिमप्राप्त ३७ जना गोताखोरलाई पनि तयारी अवस्थामा राखेको छ । डुबानको अवस्थमा उद्दारका लागि ७० वटा डुंगालाई तयारी अवस्थामा राखिएको र पहिरोका कारण राजमार्ग अवरुद्ध भएको खण्डमा अवरोध हटाउन १३ वटा हेभि इक्युपमेन्टहरु परिचालन गरिसकिएको अर्यालले बताउनुभयो ।

उता,नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले विपद्को प्रतिकार्य गर्न नेपाल प्रहरीको माथिदेखि तलसम्मको संरचना सक्रिय भइसकेको जानकारी दिनुभएको छ । प्रहरीले केन्द्रका र स्थानीय तहका विभिन्न निकाय तथा सरोकारवालासँग समन्वय गरेर कामअघि बढाइसकिएको जानकारी पनि आज दिइएको छ ।

विपद्को समयमा प्रहरी संगठनभित्र रहेको साधन,स्रोतलाई अधिकतम प्रयोग गर्ने उहाँले स्पष्ट पार्नुभयो । प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औंजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको बताउनुभयो । मुख्य तथा सहायक राजमार्गहरुलाई अवरुद्ध हुन नदिन प्रहरीले ध्यान केन्द्रित गरेको पनि प्रवक्ता कुँवरले बताउनुभयो ।

टिप्पणीहरू