त्रिपन्न लाख चोरी,बल्ल सिंहदरबारलाई तातो

त्रिपन्न लाख चोरी,बल्ल सिंहदरबारलाई तातो

दुई महिनाअघि नुवाकोट पञ्चकन्या गाउँपालिकाबाट ५३ लाख गायब भयो । दुई महिनासम्म यो प्रकरण गाउँपालिकाले गुपचुप राख्यो । सामाजिक सुरक्षा भत्ता वितरणका लागि सदरमुकाममा रहेको हिमालयन बैंकबाट वडा कार्यालयका सचिव सरिता रावतसहित ३ जना कर्मचारीले झिकेर लगेको ५० लाख र वडा कार्यालयमै भएको तीन लाख समेत गरी ५३ लाख मात्र गायब बनाइएन,कार्यालयको सीसी क्यामेरा समेत गायब बनाइयो ।

लामो समयसम्म गुपचुप राखिएको यो प्रकरणमा सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई तातो लागेको छ । नुवाकोट जिल्ला अदालतले वडा सचिव रावतलाई ३ लाख र अन्य २ कर्मचारीलाई जनही ५ लाख रुपैयाँ धरौटीमा छाडेपछि यो प्रकरण सिंहदरबारसम्म आइपुगेको हो ।

मन्त्रालयले यो प्रकरणमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीसँग स्ष्टीकरण सोधेको छ तर उनको जवाफ मन्त्रालयलाई चित्त बुझेको छैन ।

बैंकिङ प्रणालीमा नगई,मापदण्ड विपरित सामाजिक सुरक्षा भत्ता निकालिएको र गोलमाल गरिएको बिषयमा चित्तबुझ्दो जवाफ पेश गर्न नसकेपछि अनुसन्धानको सुइ उनै प्रमुख प्रशासकीय अधिकृततिर सोझिएको मन्त्रालयका अधिकारीहरुको भनाई छ । चोरीको घटना लामो समयसम्म गुपचुप राखिनुले यो प्रकरणमा कर्मचारीहरुकै मिलमतोको आंशका मन्त्रालयका अधिकारीहरुले गरेका छन् । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कर्मचारीदेखि जनप्रतिनिधिसम्मको हात हुन सक्ने उनीहरुको शंका छ ।

सामान्य प्रशासनका सहसचिव राजीव पोखरेलले जनआस्थालाई बताएअनुसार यो बिषयमा छानबिन गर्न र सत्यतथ्य बुझ्न अस्ति मात्र दुई सदस्यीय समिति गठन भएको छ । जहाँ आर्थिक प्रशासन शाखाका लेखा अधिकृत उमेश्वर काफ्ले र संघीय मामिला शाखाका महेश्वर दाहाल छन् । उनीहरु दुबै जना सत्यतथ्य बुझ्न सोमबार नुवाकोट पुगेर आजै काठमाडौं फर्कदैं छन् । घटनाको छानबिन गरी उनीहरुले दिएको प्रतिवेदनको आधारमा कारवाही प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ ।

उता,५३ लाख चोरी प्रकरणमा जिल्ला अदालत र नेपाल प्रहरीको सिआइबीले एकसाथ अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू