आजको बजेट र एमालेको विवाद

आजको बजेट र एमालेको विवाद

बागमती प्रदेशसभामा आज प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दैछ । अघिल्लो साता उसले नीति तथा कार्यक्रम पेश गरेको थियो । एमालेको स्पष्ट बहुमत रहेकाले नीति तथा कार्यक्रम सजिलैसँग पारित भएको हो ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदको समेत समर्थनमा नीति तथा कार्यक्रम पारित भएपछि त्यसले निकै चर्चा पाएको छ । विशेषगरी विपक्षी गठबन्धन निकट राजनीतिमा उक्त विषयले चर्चा पाएको हो ।

यता प्रदेशसभामा माधव समूहका एकजना प्रभावशाली नेताले भन्नुभयो ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको प्रतिपक्षहरुको तर्फबाट कुनै राजनीतिक एक्सन हुनुपर्थ्यो । उताबाट अविश्वास प्रस्ताव पनि दर्ता गरिएको छैन । यस्तो अवस्थामा एमालेका सांसदले नीति तथा कार्यक्रम फेल गर्नु भनेको प्रदेशसभालाई विघटनमा लैजानु हो । त्यसैले नीति तथा कार्यक्रम पारित गर्नुको विकल्प थिएन ।’

आज बजेट पेश गरेपछि कम्तिमा १० देखि १२ दिन प्रदेशसभा बैठक स्थगित हुनेछ । त्यसपछि मात्र बजेटमाथि छलफल हुने बताइन्छ । बजेट पारित गर्नुअगाडि केन्द्रमा हुने राजनीतिक गतिविधि र एमालेभित्रको अन्तरविरोधको विकासक्रमले धेरै कुराको संकेत गर्ने उनै नेताले बताउनुभएको छ ।

बजेटमा एमालेभित्रको अर्को पक्षले दिएको सुझावलाई कार्यान्वयन गर्न हेटौंडामा सभासद् राजेन्द्र पाण्डेको संयोजकत्वमा बजेट सुझाव कार्यदलसमेत बनाइएको छ । कार्यदलअन्तर्गतको उपसमितिले त्यसबारे काम गरेको छ । त्यसैका आधारमा अर्को पक्षको सुझावलाई समेत बजेटमा टुंगो लगाउने भनिएको हो ।

यता बालुवाटारमा भोलि बुधवार नेकपा एमाले स्थायी समितिको बैठक बोलाइएको बुझिएको छ । वरिष्ठ नेता नेपालको उपस्थिति नरहने हो भने भोलि बोलाइएको बैठकको कुनै औचित्य नरहेको अध्यक्ष ओली निकट नेताहरुले नै बताएका छन् । उता नेपालपक्षीय नेताहरुले बैठक बोलाएर साँच्चिकै वातावरण बनाउन खोजिएको हो भने त्यसअघि नेता नेपालसँग आवश्यक सहमति गर्नुको विकल्प नभएको बताउँछन् ।

यसबीच बालुवाटारले अर्को पक्षमा नरम भनेर प्रचार गरिएका पाँच जना नेता भने जसरी पनि एकता गराउन सकृय देखिन्छन् । आफ्नै समूहको कारण निवर्तमान हुनुभएका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले भने पार्टीभित्र उक्त अवस्था आउनुमा प्रधानमन्त्री ओलीको हात रहेको बताउनुभएको छ ।

तर,अब सबै कुराको छिनोफानो असार महिनाभित्र हुने सर्वोच्च अदालतको आदेशबाट तय हुनेमा सबैजसो दलका नेता एकमत देखिएका छन् ।

टिप्पणीहरू