माओवादी नेता मार्ने पत्नीसँगै हतियार बेच्ने ११ जना पक्राउ

माओवादी नेता मार्ने पत्नीसँगै हतियार बेच्ने ११ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले माओवादी केन्द्रका जिल्ला नेता दिपक पाण्डेयलाई गोली प्रहार गरी मार्ने काममा संलग्नसहित हतियार बेच्ने गिरोहका ११ जनालाई नियन्त्रणमा लिएको छ ।

जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा गोली प्रहारपछि घाइते भएका पाण्डेयको उपचारका क्रममा जेठ १० गते काठमाण्डौको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । पाण्डेयसहित तीन जना मोटरसाइकलमा सवार भई तौलिहवा फर्किदै गर्दा गोली प्रहार भएको थियो । सोसम्बन्धमा प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी नेतृत्वको टोलीले अनुसन्धानका क्रममा घटनामा संलग्न कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ओमप्रकाश यादव र उनले लुकाई राखेको पेस्तोल एक थान,सो को म्याग्जिन तथा ६८ राउण्ड गोली बरामद गरेको छ ।

त्यसैगरी हत्यामा संलग्न कपिलवस्तु नगरपालिका-२ बस्ने साकिर अली पखिया,निजले प्रयोग गरेको कटुवा पेस्तोल र सोमा लाग्ने गोली २ थान तथा कपिलवस्तु नगरपालिका वडा नम्बर २ घर भई वडा नम्बर ६ ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान, निजले वारदातमा प्रयोग गरेको स्वचालित पेस्तोल,सो को म्याग्जिन तथा ८ राउण्ड गोली पनि प्रहरीले बरामद गरेको छ । प्रहरीले साकिर अलि पखियाले हत्यामा प्रयोग गरेको कटुवा पेस्तोल आफ्नो घरमा लुकाउने कपिलवस्तु नगरपालिका १ का पूर्णवीर पाल्पालीलाई समेत नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्नता रहेका ओमप्रकाश यादवसँग अनैतिक सम्बन्ध रहेकै कारण मृतक दिपक पाण्डेयकी श्रीमती महिमा पाण्डेयको मुख्य योजनामा  दिपकको हत्या भएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । श्रीमती महिमाकै मुख्य योजनामा दिपकको हत्या गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले पाण्डेय हत्यामा आवश्यक पर्ने हतियार उपलब्ध गराउन सहयोग पुर्याएका ६ जनालाई नै नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आएका हतियार बेचबिखन र ओसारपसारमा संलग्न व्यक्तिहरुमा कपिलवस्तु नगरपालिका वडा नम्बर २ बरदहवाका सद्दाम हुसेन खान, सोहि वडाको बरगदवाका प्रविण गुप्ता,यशोधरा गाँउपालिका ४ का ज्ञानेन्द्रकुमार पाण्डेय र राधेश्याम चौधरी,कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का श्रीराम कुर्मी,वडा नम्बर १ मस्जिदटोलका नरसत अलि रहेका छन् ।

टिप्पणीहरू