बामदेव र विष्णु पौडेलबीच सँक्षिप्त भेट,”राजनैतिक प्रसङ्गमा हैन”

बामदेव र विष्णु पौडेलबीच सँक्षिप्त भेट,”राजनैतिक प्रसङ्गमा हैन”

चैतदेखि पदच्युत एमाले नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष वामदेव गौतमले आफू र अर्थमन्त्री विष्णु पौडेलबीचको भेटघाटलाई लिएर भएका प्रचारको खण्डन गर्नुभएको छ ।बिहान अर्थमन्त्री पौडेल गौतमलाई भेट्न भैंसेपाटी निवास पुग्नुभएको थियो । उक्त भेटघाटलाई एमाले विवादसँग जोडेर चर्चा गरिएपछि गौतम असन्तुष्ट बन्नुभएको हो।

उपप्रधानमन्त्री पौडेलसँग राजनीतिक कुराकानी नभएको गौतमले प्रष्ट पार्नुभएको छ । पौडेल आफ्नो परिवारको सदस्यजस्तै भएको र बेलाबेला भेटघाट हुने गरेको भन्दै गौतमले छिमेकीसङ्गको निजी छलफललाई एमाले विवादसँग जोड्नु आवश्यक नरहेको बताउनुभएको हो ।

‘विष्णु पौडेलसँग मेरो पारिवारिक सदस्यजस्तो सम्बन्ध छ । हामी छिमेकी पनि हौँ । बेलाबेला भेट भैरहन्छ । यो नितान्त निजी भेटघाट हो यसलाई राजनीतिक कुरा बनाउनु आवश्यक छैन’, जनआस्थासंगको कुराकानीमा गौतमले भन्नुभयो ।

यसअघि एमाले स्थायी समिति बैठकको निम्तो दिन पौडेल गौतम निवास पुगेको र चार घण्टा छलफल भएको चर्चा चलेको थियो । त्यसको खण्डन गर्दै गौतमले भन्नुभयो, ‘८ बजे भेट्न आउँछु भनेर पौने ९ बजे आइपुग्नुभयो, बढिमा आधा घण्टा मात्र कुराकानी भएको हो । कुनै राजनीतिक सन्दर्भ होइन ।’

गौतम निकट एक नेताले वामदेवलाई बद्नाम गराउन बालुवाटारले चलाएको भ्रामक प्रचार भनेका छन् । ‘पटक-पटक बदनाम गर्दै आएकाहरु आफूलाई अप्ठेरो परेका बेला वामदेवलाई खोज्छन् । अहिले फेरि बद्नाम गर्न लागेका छन्’,उनले भने, ‘तर कोही पनि भ्रममा पर्नु आवश्यक छैन । राजनीतिक रुपले उहाँ जहाँ हुनुहुन्थ्यो अहिले पनि त्यहिँ हुनुहुन्छ ।’

टिप्पणीहरू