स्कुटीमा सवार अपसनाको ज्यान गयो

स्कुटीमा सवार अपसनाको ज्यान गयो

बारा,तनहुँ र रौतहटमा आज भएका सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । बाराको महागढीमाई नगरपालिका–२ इनर्वास्थित सडकमा प्रदेश नम्बर २ को.५२५ नम्बरको अटोरिक्साको ठक्करबाट स्थानीय पैदलयात्री राजुप्रसाद यादवकी छोरी ७ वर्षीया नेहाकुमारी यादवको बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल हुँदै कलैया मेडिकलमा थप उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै,तनहुँको शुक्लागण्डकी नगरपालिका–७,मालेबगरस्थित सडकमा ग.१४ प ७२०१ नम्बरको मोटरसाइकल र ना.७ ख ११६८ नम्बरको कन्टेनर एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक कास्की मादी गाउँपालिका–९ घर भएका २८ वर्षीय प्रदिप भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जीपी कोइराला अस्पताल बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो ।

उता,रौतहटको देवाही गोनाही नगरपालिका–४ स्थित सडकमा ना.५ त २४११ नम्बरको ट्र्याक्टरमा बागमती प्रदेश ०२–०२३ प ००७४ नम्बरको स्कुटर ठोक्किँदा स्कुटरमा सवार बारा सिम्रौनगढ नगरपालिका–४ हरिहर टोलकी ३७ वर्षीया अपसना खातुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीरगञ्जस्थित रोशन अली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू