महात्मा गान्धीको हत्या गर्ने ‘गोड्से प्रकरण’ गिजोलिएको गिजोलियै

महात्मा गान्धीको हत्या गर्ने ‘गोड्से प्रकरण’ गिजोलिएको गिजोलियै

नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्दा चलाइएको भन्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ ।

वैद्यले प्रदेशसभामा नीति तथा कार्यक्रमको छलफलवीच जेठ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आफू नाथुराम गोड्से बन्न तयार रहेको बताउनुभएको थियो । सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि भोलिपल्ट जेठ २९ गते संसदबाटै आफ्नो अभिव्यक्ति फिर्ता लिदैँ उहाँले संसदको रेकर्डबाट हटाउन अनुरोध गर्नुभएको थियो ।

वैद्यको उक्त अभिव्यक्तिले हत्या दुरुत्साहन गरेको भन्दै नेकपा (एमाले) मकवानपुरको भातृ संगठन युवा संघ नेपालका एक नेताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्दा दायर गरेका थिए । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आज पत्रकार सम्मेलन गर्दै प्रदेशसभा सदस्य वैद्यको अभिव्यक्ति नेपाली कांग्रेसको आदर्श,नीति,संसदीय अभ्यास र गरिमा विपरित भएकाले फिर्ता लिन निर्देशन गरेको र लगत्तै फिर्ता लिइसकेपछि उक्त विषय टुंगिइसकेको भन्दै सरकारको दबाब,प्रभाव र राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर भएको आरोप लगाएको छ ।

संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रता तथा संविधानको बर्खिलाप बदनीयतपूर्ण तवरले मुद्दा दर्ता गरिएकाले मुद्दा फिर्ता लिन पनि कांग्रेसले आग्रह गरेको छ । कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अभिव्यक्ति फिर्ता लिइसकेको र संसदको रेकर्डबाट समेत हटाइसकिएको अवस्थामा मुद्दा दर्ता भएकोप्रति आपत्ति जनाउनुभयो ।

‘युवा संघको एउटा व्यक्तिले दिएको उजुरीको आधारमा जाहेरी दर्ता गर्ने प्रहरी कार्यालय मकवानपुरप्रति हाम्रो घोर आपत्ति छ । संविधान,कानून,मुलुकको संसदीय मर्यादाको बर्खिलापमा गरिएको मुद्दा दर्ताप्रति हाम्रो घोर आपत्ति छ । यस्तो किसिमले मुद्दा दर्ता गरेर कानूनी कारबाही अगाडि बढाउन नमिल्ने भएकाले यसप्रति नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण भएको छ । यसलाई तत्काल फिर्ता लिने काम भएन, यसलाई अगाडि बढाइयो भने हामी प्रदेशसभामा यसको डटेर प्रतिवाद गर्छौँ र जुनसुकै मूल्य चुकाउन पनि तयार छ ।’

कांग्रेसले वैद्यमाथि मुद्दा चलाउनु गैरसंवैधानिक कार्य हुने भन्दै संविधानको बर्खिलापमा नजान प्रहरी,अनुसन्धान अधिकारी र सरकारका निकायलाई सचेत गराएको छ । तत्काल मुद्दा फिर्ता लिन आग्रह गर्दै कांग्रेसले अन्यथा सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएको छ ।
हिन्दुस्तान (भारत) बाट पाकिस्तान छुट्टिन मध्दत गरेको भन्दै सन १९४७ मा मुम्बईबाट दिल्ली आएर नाथुराम गोड्सेले महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए । बैध्यले त्यही पुरानो सन्दर्भ कोट्याउँदै प्रधानमन्त्री ओलीबिरोधी आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो ।

टिप्पणीहरू