ज्ञानेन्द्र शाहीले बाउन्स चेक भिडाएर ब्यापारीको बिचल्ली

ज्ञानेन्द्र शाहीले बाउन्स चेक भिडाएर ब्यापारीको बिचल्ली

भन्छन् नि हात्तीका चपाउने र देखाउने अलगअलग दाँत भएजस्तै मान्छेका पनि दुई थरी रुप हुन्छन्-वास्तविक र लुकेको ।

समाज सेवा र राहत वितरणका नाममा निषेधाज्ञावीच मादक पदार्थ खाएर गाउँलेसँग झगडा पर्दा सुर्खेतका गाउँलेले टाउको फुटाइदिएका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले पुरानो ऋण नतिरेको आरोप छ । शाहीले विभिन्न व्यक्तिलाई तिर्नुपर्ने लाखौं रुपैयाँ वर्षौंदेखि नतिरी सामाजिक अभियन्ता बनेको बताइन्छ ।

केही वर्षअघि काठमाडौंमा व्यापार गर्दाको पैसा शाहीले तिरेको देखिएन । जुम्लाका ज्ञानबहादुर शाही अरुको पैसा नतिरेर सामाजिक अभियन्ता बनी एकाएक ज्ञानेन्द्र शाहीको रूपमा प्रकट भएका हुन् । २०७४ सालताका उनले अरु तीन जनासँग मिलेर काठमाडौंमा विद्युतीय सामान बेच्ने अनलाइन व्यापार शुरु गरेका थिए ।

काँडाघारीमा कार्यालय खोलिएको शाहीको कम्पनीको नाम केटिएमबज डट कम थियो । केही समयपछि उनीहरुले विद्युतीय सामानसँगै खाद्यान्नसमेत अनलाइनबाट बिक्री गर्न थाले । त्यहि समय पार्टनरबीच खिचलो शुरु भयो र छुट्टी भिन्नसमेत भयो ।

तर शाहीले भने अब व्यापार आफैँ गर्ने भन्दै सवारी साधनको पछाडि भागमा चामल,विद्युतीय सामान, थर्मस र कपडा राखेर चोक चोकमा बिक्री गर्न थाले । त्यहि क्रममा कालिमाटीमा जय पशुपतिनाथ सप्लायर्सबाट २०७५ सालमा ८ सय ४० बोरा चामल उठाए । जसको मूल्य झण्डै नौ लाख रुपैयाँ भएको सप्लायर्सका प्रोप्राइटर अरविन्द अग्रहरीले बताएका छन् ।

त्यसबेलाको नौ लाख रुपैयाँको न साँवा,न ब्याज नदिई व्यापारीलाई हालसम्म चिल्लीबिल्ली पारेका शाही दुखीलाई न्याय दिलाउने अहिलेका सामाजिक अभियन्ता हुन् । अग्रहरीलगायतका व्यापारीले पटक पटक आफ्नो रकम भुक्तानी गर्न आग्रह गरेपछि शाहीले लामो समयसम्म उनीहरुको फोनै ब्लक गरेका थिए ।
यदाकदा फोन उठाएर पुरानो रकम तिर्छु भनेपनि शाहीले तीन वर्षसम्म झुक्याएको उनीहरु बताउँछन् । अहिले पनि भाखा मात्र सार्ने शाहीले पैसा तिर्न आनाकानी गरेपछि व्यापारीहरुले प्रहरी प्रशासन गुहार्न लागेका छन् ।अग्रहरीलाई उनले एउटा सहकारी र अर्को बैंकको गरी दुई वटा चेक भिडाएका छन् । तर,पैसा नभएको खाताको उक्त चेकको कुनै अर्थ नभएको उनले जनआस्थालाई बताए । शाहीले काँडाघारीको पुष्कर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६ लाख ४१ हजार र एभरेष्ट बैंकको १ लाख २८ हजार ५ सय रुपैयाँको मिति उल्लेख नगरिएको चेक काटेका हुन् ।

तर,त्यसको कुनै उपादेयता नभएपछि व्यापारीले उनलाई पटक पटक फोन गरेका थिए । शाहीले फोनमा पैसा दिन्छु भन्ने तर नदिने प्रवृत्ति देखाएपछि आफू कानुनी उपचारमा जानुको विकल्प नरहेको अग्रहरी बताउँछन् । यसअघि शाहीको कुपण्डोलस्थित कार्यालयमा समेत सम्पर्क राख्दा फोन नउठाएको तर पिएमार्फत् रेडिमेड जवाफ दिएर शाही धेरै पटक उम्केको उनी बताउँछन् ।

टिप्पणीहरू