भत्ता लिन वृद्धहरुको भिड ः कोरोनाको छैन पिर

भत्ता लिन वृद्धहरुको भिड ः कोरोनाको छैन पिर

एकवर्षसम्म वृद्धभत्ता नदिएको नुवाकोटको बेलकोटगढी नगरपालिकाले अहिले वितरण गरेको छ । कोरोनाको उच्च जोखिमका बेला नगरपालिकाले वृद्ध भत्ता लिन सानिमा बैंकमा जानु भन्ने आदेश दिएपछि सानिमा बैंक बेलकोटगढीमा बृद्धभत्ता लिन पुगेका स्थानीयको भिड लागेको छ ।

६० वर्ष उमेर नाघेकाहरुको भिडमा कोरोनाबाट जोगिन स्वास्थ्य मापदण्ड भने अपनाएको देखिएको छैन । भिडमा रहेका अधिकांशले मुखमा मास्कसमेत लगाएका छैनन् । लगाएकामध्ये कतिपयको चिउँडोमा झुण्डिएको छ । एक वर्षदेखि नगरपालिकाले भत्ता नबाँडेको भनेर चर्को आलोचना भएपछि पालिकाले सूचना जारी गरेर बैंकबाट भत्ता बाँडेको हो । भिड व्यवस्थापनका लागि स्थानीय प्रशासन वा बैंक प्रशासनले कुनै चासो दिएको देखिँदैन थियो ।     
देशका अधिकांश क्षेत्रमा जस्तै नुवाकोटको बेलकोटगढीमा पनि लकडाउन घोषणा गरिएको छ । तर पालना भने स्वयम् प्रशासनले नै गरेको छैन । केहीदिन अघि खेलमैदानका लागि आएको २५ लाख रकम नगरपालिकाले रकमान्तर गरी अन्यत्र खर्च गर्न लागेपछि विरोधका लागि सयौँ स्थानीयले नगरपालिका घेरेका थिए ।

भत्ता लिन गएका स्थानीयले नगरपालिकाले समयमै भत्ता वितरण नगरेका कारण कोरोनाको जोखिमका बेला भिड बढेको बताए ।

टिप्पणीहरू