गण्डकी सरकारले तत्काल पूर्णता: नपाउने

गण्डकी सरकारले तत्काल पूर्णता: नपाउने

मुख्यमन्त्रीको शपथ लिएलगत्तै सत्ता गठवन्धनका दलहरुबाट एक-एक जना समेटेर मन्त्रिपरिषद गठन गर्नुभएका कृष्णचन्द्र पोखरेल नेपाली नेतृत्वको गण्डकी सरकारले तत्काल पूर्णता: नपाउने भएको छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेटको तयारी थाल्नुपर्ने भएकाले तत्काल मन्त्रिपरिषद बिस्तार नहुने माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले बताउनुभयो । बजेटको चटारोका कारण गठवन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल नभएकाले मन्त्रिपरिषदले पूर्णता: पाउन केही समय लाग्ने उहाँले बताउनुभयो ।

‘हिजो चार बजेसम्म हामीले छलफल गर्नै पाएका थिएनौं । सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याइहाल्नुपर्ने अवस्था छ । सरकार त्यसैमा केन्द्रित भएकाले मन्त्रिपरिषद बिस्तार अहिले हुँदैन’, चुमानले भन्नुभयो ।

पोखरेल हिजो मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँसँगै काँग्रेस, माओवादी केन्द्र र जसपाका एक-एक जना मन्त्री नियुक्त भएका थिए । त्यस्तै, स्वतन्त्र सांसद राजीव गुरुङलाई पनि मन्त्रीमा नियुक्त गरिएको छ । चार मन्त्रीले सपथग्रहण गरे पनि मन्त्रालय बाँडफाँट गरिएको छैन ।

उहाँले संविधानले गरेको व्यवस्था बमोजिम एक महिनाभित्रमा विश्वासको मत लिएर सरकारलाई प्रभावकारी ढंगले संचालन गर्न सत्ता सहयात्री दलहरुबीच छलफल भैरहेको पनि जानकारी दिनुभयो ।

पोखरेल नेतृत्वको मन्त्रिपरिषद पहिलो बैठक आज बिहान बसेको थियो । बैठकले पूर्वमुख्यमन्त्रीहरुलाई सम्मान गर्न ऐन बनाउने निर्णय गरेको थियो । पहिलो बैठकले जनताका पक्षमा लोकप्रिय निर्णय गर्नुपर्नेमा पूर्व मुख्यमन्त्रीलाई सम्मान गर्ने कुराले जनतामा गलत सन्देश गएन र भनि राखिएको जिज्ञासामा चुमानले हतारका कारण त्यस्तो भएको बताउनुभयो ।

‘जनतामा गलत म्यासेज गएको हुनसक्छ । तर, सम्मान गर्ने कुरा नराम्रो होइन । जनताका पक्षमा लोकप्रिय निर्णय गर्ने कुरा चैं समय अभावका कारण छलफल हुन् नसकेकाले हो’, उहाँले भन्नुभयो ।

टिप्पणीहरू