राउटे युवतीका पीडा,दौंतरी नभेटिएर बाहिर पुगेको आशंका

राउटे युवतीका पीडा,दौंतरी नभेटिएर बाहिर पुगेको आशंका

गत साता सुर्खेतमा दुई जना राउटे युवतीलाई यौन दुर्व्यवहार गर्ने युवाहरुलाई प्रहरीले कानुनी कारबाही शुरु गरेको छ । यता राउटे युवतीहरु पटकपटक कसरी अर्को समुदायका युवाहरुसँग दिउँसै मादक पदार्थ सेवन गरेर ‘त्यो अवस्थामा’ पुगे भन्ने कौतुहलता र अनुसन्धान पनि शुरु भएको छ ।

राउटे समुदायलाई नजिकबाट चिन्नेहरु भन्छन् ‘सुर्खेत,गुर्भाकोट नगरपालिकाको आँपसोतीस्थित भेरी नदी किनार बसोबास गर्दै आएको उक्त समुदायमा ती युवतीको दौंतरी मिल्ने युवक छैनन् । त्यसैले छिटो उमेरमा विवाह गर्ने उक्त समुदायमा उनीहरुको उमेर तुलनात्मक रुपले छिप्पिन थालेको थियो । उनीहरू केही समयदेखि बाहिरका ती युवाहरुसँग समुदाय बाहिर आउन र भेटघाट गर्न थालिसकेका थिए ।’उमेर,खानपिन र बाह्य माहौलले ती युवतीलाई विचलित बनाएको हुनसक्ने राउटेबारे विशेष जानकारी राख्दै आएका स्थानीय सुरक्षाकर्मीले बताएका छन् ।

यसैबीच उक्त समुदायलाई प्रदान गरिने राहत वितरणलाई व्यवस्थित गर्न आज जिल्ला प्रशासन कार्यालय सुर्खेतले सूचना जारी गरेको छ । हिजो प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले कोरोना महामारी र केही दिनअघि उक्त समुदायका दुई युवतीमाथि भएको यौन दुर्व्यवहारको घटनालाई लिएर सूचना जारी गर्ने निर्णय गरेको हो ।

सहायक प्रजिअ रोमबहादुर महतद्वारा जारी सूचनामा जंगलमा बस्ने फिरन्ते समुदाय भएको राउटेका आफ्नै मूल्य,मान्यता र परम्परा रहेको उल्लेख गर्दै उक्त समुदायका चेलिबेटीहरु राहत, भिडियो र मनोरञ्जनका नाममा गैरसमुदायका मानिसहरुबाट शोषित हुन थालेको बताइएको छ ।

सूचनामा गैरसमुदायका मानिसहरुले उनीहरुलाई राहत प्रदान गर्न खोजेमा अब एकद्वार प्रणलीमार्फत् वितरण गर्न पाइने बताइएको छ । जसअन्तर्गत नगदी तथा जिन्सी सबै सामाग्रीको अभिलेख सामाजिक विकास कोषमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

कसैले स्वयम् उपस्थित भएर राहत सामाग्री उपलब्ध गराउन चाहेमा प्रदेश मन्त्रालयमा अभिलेख राखेर स्थानीय तह र सहजीकरण समितिको समन्वयमा मात्र बस्ती नजिक पुगी उक्त समुदायको मुखियालाई सामागी हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ ।

महामारी र यौन दुर्व्यवहारको घटनापछि राउटे बस्तीमा प्रवेश गर्न पूर्णत: निषेध गरिएको छ

टिप्पणीहरू