योगेशलाई ताप्लेजुङ्ग छाडी झापाको अफर ?

योगेशलाई ताप्लेजुङ्ग छाडी झापाको अफर ?

युवा नेता योगेश भट्टराईलाई पार्टीभित्रको असहज अवस्थाले आफ्नो निर्वाचन क्षेत्रमा अप्ठ्यारो पारिदिएको छ । अहिलेको परिस्थितिमा उहाँको अडानले गृहजिल्ला ताप्लेजुङमा राजनीति सहजभन्दा असहज बन्दै गएको देखिन थालेको छ ।

यता काठमाडौंमा पनि उहाँलाई कुनै निश्चित निर्वाचन क्षेत्र तोकिएको छैन । जिल्लामा आफ्नो एक मात्र क्षेत्र खोसिएपछि तिलकुमार मेयाङ्बो फ्रस्टेटेड हुनुभएको छ ।

तिलकुमार हालै बालुवाटार खेमामा लाग्नुभएको छ । उहाँले हाँसिखुशी विदा मागेरै उतै गएको स्थानीय नेताहरुको दाबी छ । ०५६ सालका माननीय तिलकुमार कमरेडले किन कित्ता फेरेको होला ? भनेर सोधिएको जिज्ञासामा जिल्ला कमिटीका एकजना सदस्य भन्नुहुन्छ,‘योगेश कमरेड नेपाल समूहमा रहने भएपछि आगामी दिनमा अर्कोतिरबाट टिकट कन्फर्म गर्नु परेन त !’

त्यसैगरी योगेशले निकै भर गर्नुभएका जिल्लाका नेताहरुमा प्रदेश सांसद तथा पार्टी अध्यक्ष बलबहादुर साम्सोहाङ पनि हो । उहाँले पनि ढुलमुलको कारण योगेशको साथ छाडिसक्नुभएको बताइन्छ । जिल्ला सचिव तथा गाउँपालिका अध्यक्ष केशर मेयाङ्ग्बोले एमालेभित्रै रहेर संघर्ष गर्ने भन्नुभएको छ,दुबै सम्बिधानसभाका सदस्य डम्बरध्वज तुम्बाहाम्फे कतै खुल्दिन भनेर बस्नुभएको छ । ताप्लेजुङ्गबाट टिकट दिन्छु भनेर लगिएका तिलकुमारलाई हिस्स पारेर भोलि योगेशलाई च्याप्ने कुरा पनि आएन अनि बलबहादुर नहुँदा भट्टराईलाई ताप्लेजुङमा हलचल गर्न गाह्रो हुने गरी ओली खेमाले अत्याएको छ । उता जिल्ला कमिटीमा उपाध्यक्ष रहनुभएका दाजु मातृका भट्टराई भाइको ‘बीचमा बस्ने भूमिकाप्रति’ सन्तुष्ट हुनुहुन्न ।

भाइको पछिल्लो अडानप्रति उहाँले हालैको जिल्ला कमिटी पदाधिकारीहरुको बैठकमा चर्को आलोचना गर्नुभएको एकजना जिल्ला नेताले बताएका छन् । त्यसैगरी मातृकाले केही समयअघि सामाजिक सञ्जालमा लामो सन्देश लेखेर योगेशलाई सम्झाउनुभएको भन्नेहरु सदरमुकाम फुङ्ग्लिङ्गमा धेरै देखिएका छन् । मात्रिकाले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको पतनदेखि केशरजंग रायमाझीसम्मको विवरण स्ट्याटसमा उल्लेख गर्नुभएको थियो । त्यहि क्रममा एक ठाउँ लेख्नुभएको छ ‘केपी बाका अन्धभक्तहरुलाई रुनको लागि आँशु कम हुनेछ । कुनै खेलाडीको आत्मघाती गोलबाट ट्रफी जिते पनि अन्तत्वगत्वा जित्ने खेलाडीलेसमेत आत्मघातीलाई घृणा गर्छ ।’

स्रोत भन्छ,‘राष्ट्रपति बिद्यादेवी भण्डारी र अध्यक्ष केपीको तर्फबाट उहाँलाई ताप्लेजुङ नभए रोजेर झापाको १ या २ नम्बरमध्ये एउटा क्षेत्रबाट उठाएर जिताइदिने वचन दिइएको छ । केपीको आँखामा अब राजनीतिक रुपमा हुर्काउने जिम्मेवारीमा योगेश र अग्नि खरेल दुई जना पर्नुभएको छ ।’

यता वरिष्ठ नेताद्वय नेपाल र खनालले पार्टी विवादको खराब अवस्था र निचोडमा योगेश र गोकर्ण बिष्टहरु आफ्नो समूहमा नरहने धेरै कोणबाट अनुमान लगाइसक्नुभएको बताइन्छ ।

नेपाल समूहका युवा नेताहरु ओली समूहमा जाँदा उताका हिक्मत कार्की,गोकुल बाँस्कोटा, भानुभक्त ढकाल,विनोद ढकाल,महेश बस्नेत,राजन भट्टराई,कर्ण थापा र अघिल्लो पुस्ताका गुरु बराल,बिष्णु रिमाल,प्रदीप ज्ञवाली,खगराज अधिकारी,शंकर पोख्रेललगायत सबैले प्रतिस्पर्धी ठान्ने भएकाले त्यता पनि सजिलोसँग बसिखान मिल्ने अवस्था देखिँदैन । किनभने त्यहिँभित्र महेश बस्नेत र गोकुल बाँसकोटाहरुबीच एकार्कालाई छिर्के हानेर मन्त्री खान तीब्र टक्कर छ ।

पछिल्लो समय बालुवाटार समूहभित्र उपप्रधानमन्त्री विष्णु पौडेल र महासचिव ईश्वरबीच मज्जैको प्रतिस्पर्धा छ । सुवास नेम्वाङ्गको आफ्नो लक्ष्य छ ।त्यस्तो अवस्थामा अर्को समूहबाट छिरेकाले उक्त बालुवाटार या बालकोटभित्र कसरी स्पेश सुरक्षित गर्न सक्लान् ? योगेशको स्वभाव झुक्न नमान्ने,लागेको बोल्ने-यो बालुवाटारको निम्ति प्रथम दृष्टिमै अयोग्यताको आधारभूत मापदण्ड हो । त्यसमाथि त्यहिँभित्रका पनि धेरैजसोलाई आश्वासनमा टिकाइएको अवस्था छ । ती आश्वासन कतिको हकमा कार्यान्वयन हुने हो ? वामदेवले त्यस्ता वचनमा कतिचोटि धोका पाउनुभएको हो ?

-हरि गजुरेल

टिप्पणीहरू