बागलुङका इन्द्रलालद्वारा ‘अनैतिक’ काम नगर्न चेतावनी

बागलुङका इन्द्रलालद्वारा ‘अनैतिक’ काम नगर्न चेतावनी

गण्डकी प्रदेशसभामा बागलुङका सांसद इन्द्रलाल सापकोटा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट एक मात्र माननीय हुनुहुन्छ । अर्कोतर्फ २६ जना र आफू एक्लै अर्कोतिर हुँदा पनि अपमान नठानी सरकारलाई हरेक पाइलामा सघाइरहनुभयो ।

जम्मा एक जनाले गर्ने विद्रोहले प्रदेशको पार्टी राजनीतिमा कुनै महत्व नपाउने वातावरण अद्यावधिक थियो । तीन वर्षदेखि सापकोटाले पार्टीको तर्फबाट केही पनि नपाएको अवस्था एकातिर,अर्कोतिर गत हिउँददेखि नेकपा विभाजनले उत्पन्न गराएको परिस्थितिमा उनै सापकोटाले चाँहि भोट हालेर पृथ्वीको सरकारलाई काँध थापिरहनुभयो ।

तर पनि इमान जमानको राजनीति गर्दै आउनुभएका सापकोटालाई हिजो दिउँसो धर्मसंकटको अवस्था आइपर्यो । अस्ति दिउँसो आफूसहित एमालेका २७ जनाको मत मात्र पाएका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो एकाएक अपत्यारिलो तवरले ३२ जनाको समर्थनको कागजात बटुलेपछि २६ जना एकातिर,सापकोटा अर्कोतिर फर्केको बताइन्छ ।

त्यहि क्रममा उहाँले मुख्यमन्त्रीलगयात पार्टी नेतृत्वलाई ‘यो हदसम्मको अनैतिक काम नगर्नु,मेरो साथ हुँदैन’ भनेपछि हिजो अपरान्ह गण्डकी प्रदेशसभाभित्रको राजनीतिले कोल्टे फेरेको भन्नेहरु प्रशस्त भेटिएका छन् । सापकोटाले अनैतिक ढंगले ३२ जनाको समर्थन रहेको नक्कली काम गर्ने हो भने आफूले साथ नदिने बताएपछि गुरुङ र प्रदेश प्रमुख सीता पौडेल ‘लल्याकलुलुक’ बन्नुभएको बताइन्छ ।

त्यसअघि काठमाडौंकै मोडलमा प्राविधिक बहुमतको देखाएर प्रदेशसभा भंग गरी सत्तामा टिक्ने तयारी अन्तिम अवस्थामा पुगिसकेको थियो । सापकोटाको राजनीतिक ‘दनक’ ले घोषणा हुन लागेको असंवैधानिक प्रक्रिया रोकियो । सापकोटाले आफ्नो अनुरोधलाई नस्वीकारे वक्तव्य निकाल्ने बताएपछि पोखरादेखि बालुवाटारसम्मको संयन्त्र एक कदम पछाडि सरेको हो ।

उनै सापकोटाको अडानका कारण प्रदेशसभा विघटनसम्मको खतरा टरेर खुस्किसकेको पार्टीको इज्जत गण्डकीमा एक हदसम्म जोगिएको छ । अन्यथा,मुख्यमन्त्रीलाई दोहोरो बेइज्जती हुन सक्थ्यो ।

टिप्पणीहरू