सर्वश्व ठानिएका श्रीमान नै घातक ठहरिएपछि..

सर्वश्व ठानिएका श्रीमान नै घातक ठहरिएपछि..

-सागर हुमागाईं
रौतहटको चन्द्रपुर नगरपालिका-४ की एक महिलामाथि श्रीमानले एसिड प्रहार गरेका छन् । लामो समयदेखिको घरायसी झगडाका कारण एसिड खन्याइएको बताइएको छ ।

चन्द्रपुर ४ स्थित मनिषा सुनचाँदी पसलका सञ्चालक दिपक बिकले श्रीमती दिपिकामाथि एसिड प्रहार गरेका हुन् । एसिड हान्नेलाई प्रहरीले हिजो साँझ पक्राउ गरेको छ । घाइतेको स्थानीय एपोलो अस्पतालमा उपचार भइरहेको छ ।

दिपिकाको पाखुरा र पेट जलेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको एपोलो अस्पतालका चिकित्सक एके यादवले बताएका छन् । ‘घाइतेको अनुहारमा एसिड परेको छैन,शरीरका केही भागमा परेकाले अवस्था खतराभन्दा बाहिर छ । “

इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरका नायव उपरीक्षक लीलाराज लामिछानेले दिपकलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताउँदै आजै म्याद थप गर्न जिल्ला अदालत गौर लाने तयारी भएको जानकारी दिए ।

चन्द्रनिगाहपुर चोकबाट तीन सय मीटर पूर्व राजमार्गमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका बिक दम्पत्तिको लामो समयदेखि घर झगडा हुँदै आएको थियो । ‘पटक पटक मेरो छोरीलाई यातना दिने गर्थ्यो,अहिले त एसिड नै हानेछ,’ रुँदै दिपिकाकी आमा धनमाया सुनारले भनिन् ।

रौतहटका सुनचाँदी पसलमा एसिड निर्वाध बेचिन्छ । यसअघि पनि २०७५ सालमा चन्द्रपुर ६ की दुई किशोरीमाथि एसिड आक्रमण भएको थियो । दुईमध्ये एक किशोरीको आक्रमणबाट मृत्यु नै भएको थियो ।

अदालतबाट एसिड प्रहार गरेकोे ठहर भएमा मुलुकी अपराधसंहिता २०७४ परिच्छेद १४ को १९२ ‘क’ मा दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने र पीडितको अवस्था हेरी उचित क्षतिपूर्ति दिनुपर्ने व्यवस्था रहेको अधिवक्ता विपिन गौतमले बताउनुभएको छ ।

टिप्पणीहरू