राजनीति न हो,कहाँ पुगिन्छ के ठेगान !

राजनीति न हो,कहाँ पुगिन्छ के ठेगान !

अर्थमन्त्री तथा एमाले उपमहासचिव विष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाइएकोमा प्रधानमन्त्रीका अति विश्वासपात्र भनेर चिनिएका नेताहरू नै उहाँसँग चिढिएको बताइन्छ । यसबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल,पार्टी महासचिव तथा उपप्रधानमन्त्रीबाट हटाइएका ईश्वर पोखरेल र परराष्ट्र मन्त्रीबाट झिकिएका प्रदीप ज्ञवालीमा सबैभन्दा चर्को असन्तुष्टि रहेको भन्न थालिएको छ ।

उता महिनौंको रक्षा कवच बन्दै र सबैको प्रतिरोध गर्दै आएका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका दुःखका सारथीहरू मन्त्रीमण्डलको पछिल्लो बनोटबाट दुःखित हुनेमा पूर्वमन्त्रीद्वय गोकुल बाँस्कोटा र महेश बस्नेत पनि पक्कै हुनुुहुन्छ । यसबीच सामाजिक सञ्जालमा आएका उहाँहरूका असन्तुष्टी छैन र होइन भन्ने शब्दलाई उल्टाएर बुझ्न निकटले नै भन्न थालेका छन् ।

बस्नेतलाई मन्त्री नबनाइएकोमा युवा संघका अधिकांशले सामाजिक सञ्जालमा असन्तुष्टी छरपष्ट पारिसकेका छन् । त्यो घुमाई फिराई उहाँकै असन्तुष्टी हो भन्नेहरू पनि धेरै देखिन्छन् ।

महासचिव ईश्वर पोखरेलले डेढ वर्षअघि नै चर्को असन्तुष्टी पोख्नुभएको थियो । त्यतिबेला उहाँले ओली सरकार छ महिना बढी नटिक्ने अति निकटस्थहरूसँग बताउनुभएको थियो ।

२०६२/६३ ताका भारत भ्रमणमा गएर आउँदा पोखरेललाई भारतीय प्रशासनले विनाकारण नयाँ दिल्ली विमानस्थलमा ६ घण्टा होल्ड गरेर राखेको उहाँलाई राम्रैसँग याद थियो । त्यहि ताका नेता झलनाथ खनाललाई भने चीनको साँघाईबाट नयाँदिल्ली हुँदै काठमाडौं आउन लाग्दा फर्काएर पुनःसाँघाई नै पठाइएको थियो । तर, कारण खोलिएको थिएन ।

ती सबै घटनासँग नजिकबाट परिचित पोखरेललाई भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त गोयलसँग प्रधानमन्त्रीले मध्यरात एक्लै भेटेपछि छटपटी बढ्नु स्वाभाविक नै हो । पदीय मर्यादाको कारण उहाँले मुख नखोले पनि रक्षामन्त्री भएको मान्छेलाई प्रधानमन्त्री कार्यालयमा लगेर थन्काइएको खप्नुको विकल्प पनि थिएन ।

यता पूर्व सभामुख तथा संसदीय दलका उपनेता सुवास नेताको समेत राष्ट्रपति हुने चाहना धमिलो हुँदै गएको बताइन्छ । विगतमा अशोक राईले गडबड नगरेको भए उहाँलाई शीतल निवास छिर्न कसैले रोक्दैनथ्यो । त्यहि लिगेसीलाई नजिकबाट नियाल्नुभएका सुवासले सक्रिय राजनीति छाडेर शीतल निवासतिर जाने सोच राखे पनि बालुवाटार गुटको ‘अच्छा’ मान्छे भन्ने विशेषणले बिगार्ने चाल पाइसक्नुभएको छ ।

पहिले काँग्रेस नेता महन्थ ठाकुरले काँग्रेस नछाडेको भए रामवरण यादव पहिलो राष्ट्रपति हुने कसैले कल्पनासम्म गरेका थिएनन् । तर, टाइम टाइमको बात भनेझैँ कुर्नेले नपाउने,नसोचेकोले पाउने राजनीतिको गोटी देखेर मुलुक र एमालेभित्रको पछिल्लो विकसित घटनाक्रमले कसलाई कहाँ पुर्याउने हो अहिले नै यसै भन्न नसकिने बताइन्छ ।

टिप्पणीहरू