पाँच पूर्वप्रधानमन्त्रीले भने, सरकार घरमा आगो लगाएर खरानी बेच्दैछ

पाँच पूर्वप्रधानमन्त्रीले भने, सरकार घरमा आगो लगाएर खरानी बेच्दैछ

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारलाई दिर्घकालिन महत्वको निर्णय नलिन पाँच पूर्वप्रधानमन्त्रीले सामूहिक चेतावनी दिनुभएको छ ।

कामचलाउ सरकारले मुलुको राष्ट्रिय हित विपरित दीर्घकालीन महत्वको निर्णय गरिरहेको भन्दै पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारि गर्दै देश र जनतालाई असर गर्ने त्यस्ता निर्णय नगर्न चेतावनी दिनुभएको हो ।

विज्ञप्तिमा प्रधानमन्त्री ओलीले एकपछि अर्को ढंगले संविधानमाथि प्रहार गरेर लोकतन्त्र र कानुनी शासनमाथि घात गरेको बताइएको छ । सर्वोच्च अदालतको फागुन ११ को फैसला बिपरित असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर ओलीले संविधानमाथि निरन्तर प्रहर गरेको पूर्वप्रधानमन्त्रीहरुको ठहर छ ।

काम चलाउ सरकारको प्रधानमन्त्रीमा परिणत भैसकेको अवस्थामा ओलीले अध्यादेशबाट बजेट ल्याएको, सरकारको नीति तथा कार्यक्रम झैं प्रधानमन्त्रीले बाचन गरेर सार्वजनिक गरेको, संविधान संशोधन जस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति कायम नगरी स्वेच्छाचारी ढंगले कार्यदल गठन गरेको, मनपरी ढंगले मन्त्रिपरिषद् गरेको, नेपालको राजनीतिक इतिहासमा कहिल्यै नभएको सत्तालिप्साको कुरूप स्वरूप प्रदर्शन गरेको, सर्वोच्च अदालतलाई धम्क्याएको भन्दै पाँच पूर्वप्रधानमन्त्रीले आक्रोश पोख्नुभएको छ ।

बजेट घाटा पूर्ति गर्ने निहुँमा कामचलाउ सरकारले देशका विभिन्न भागबाट ढुंगा, बालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय गरेको भन्दै उहाँहरुले आपत्ति जनाउनुभएको छ ।

संयुक्त विज्ञप्तिमा चुरे र महाभारत श्रुंखलामा हुने उत्खननबाट जंगल विनाश भई पानीका मुहानहरू सुक्ने तथा तराई क्षेत्र मरुभूमिकरण हुने भन्दै आफ्नो घरमा आगो लगाएर अरुको हितका लागि खरानी बेच्ने काम तत्काल रोक्न माग गरिएको छ ।

कामचलाउ सरकारले गरेका देश र जनतालाई असर पार्ने दिर्घकालिन प्रकृतिका काम नगर्न चेतावनी दिँदै विज्ञप्तिमा प्रशासन, सुरक्षा निकाय र राज्यका अन्य निकायहरुलाई संलग्न नहुन आग्रह गरिएको छ ।

पूर्वप्रधानमन्त्रीहरुले मुलुकको संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यहरूमाथि भइरहेको हमलाका विरुद्ध ऐक्यबद्धता हुन् नागरिक समाज, सबै लोकतन्त्रवादी शक्तिहरू र आम जनतालाई अपिल गर्नुभएको छ ।

देशमा बाह्य हस्तक्षेप बढेको भन्दै उहाँहरुले सजग हुन सबैलाई आव्हान पनि गर्नुभएको छ । उहाँहरुले भन्नुभएको छ, ‘नेपालको बारेमा हामी नेपालीहरुले नै निर्णय गर्नुपर्छ । नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम चलखेल हुन् नपाओस् भन्ने कुरामा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहान्छौ ।’

टिप्पणीहरू