नेकपा विभाजनको पहिलो शिकार : गण्डकी

नेकपा विभाजनको पहिलो शिकार : गण्डकी

गत चुनावमा झण्डै दुई तिहाइ जनमत लिएर संघ र ६ वटा प्रदेशमा सरकारको नेतृत्व गरेको वामपन्थी शक्ति विभाजनको पहिलो असर गण्डकी प्रदेशमा परेको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र पृथ्वीसुब्बा गुरुङ्ग नेतृत्वको सरकारलाई विस्थापित गर्दै माओवादीसमेतको सहयोगमा नेपाली काँग्रेसले सरकारको नेतृत्व पाएसँगै नेकपा विभाजनको पहिलो मार गण्डकीमा परेको हो ।

संघ र सबै प्रदेशमा साढे तीन वर्ष विपक्षी बेन्चमा बसेको काँग्रेसले नेकपा विभाजनको फाइदा गण्डकीमा उठाएको छ । यसअघि कर्णाली र दुई नम्बर प्रदेश सरकारमा सहभागी भएको काँग्रेस गण्डकीमा भने आफ्नै नेतृत्वमा सरकार गठन गर्न सफल भएको हो ।

“उहाँ (ओली) नसच्चिने हो भने अरु प्रदेशमा पनि यस्तै परिणाम भोग्नुपर्ने खतरा छ । हामी चाहन्छौँ कम्तिमा बाँकी रहेका प्रदेशहरुमा वामपन्थी नेतृत्वको सरकारले नै निरन्तरता पाओस् ।’

गण्डकीमा एमालेको मत एकतावद्ध हुँदा पनि गुरुङ्गलाई सरकार जोगाउन सकस परेको हो । सरकार अल्पमतमा परेपछि अस्ति विश्वासको मत लिन नसकेपछि गुरुङ नेतृत्वको सरकार ढलेको थियो । आज काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपाली मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

नेकपाको विभाजन र एमालेभित्रको अन्तरविरोधका कारण रक्षात्मक बन्दै गएको ओली समूहलाई अहिलेकै अवस्थामा अरु प्रदेश सरकारको नेतृत्व जोगाउन पनि कठिन छ ।

लुम्बिनी, बागमती र प्रदेश १ सरकारको नेतृत्व ओली समूहले गरेको छ । तीनवटै प्रदेशमा माधव नेपाल समूह बलियो स्थितिमा रहेकाले ती सरकार पनि धरापमा छन् । एमाले विवाद समाधान नहुने हो भने जुनसुकै बेला ओली समूहलाई सरकार गुमाउनुपर्ने खतरा छ ।

गण्डकीमा एमाले नेतृत्वको सरकार ढल्नुमा प्रधानमन्त्री ओली नै जिम्मेवार रहेको माधव नेपाल समूहका एक नेताले बताए । ‘ओलीजीमा आफूबाहेक अरु केही होइन भन्ने प्रवृति छ,त्यहि प्रवृतिले नेकपा फुटेको हो । नेकपा फुटको परिणाम आज गण्डकीमा देखियो’,उनले भने, ‘उहाँ (ओली) नसच्चिने हो भने अरु प्रदेशमा पनि यस्तै परिणाम भोग्नुपर्ने खतरा छ । हामी चाहन्छौँ कम्तिमा बाँकी रहेका प्रदेशहरुमा वामपन्थी नेतृत्वको सरकारले नै निरन्तरता पाओस् ।’

गण्डकीमा वामपन्थी नेतृत्वको सरकार ढल्दा यता कर्णाली र सुदूरपश्चिममा भने माओवादी नेतृत्वको सरकार बचेको छ । एमालेको माधव नेपाल समूहले साथ दिँदा दुवै प्रदेशमा माओवादी नेतृत्वको सरकार टिकेको हो ।

नेकपा विभाजनपछिको पहिलो असर राष्ट्रियसभाको उपनिर्वाचनमा परेको थियो । बागमती र लुम्बिनीका तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पदमा भएको उपनिर्वाचनमा ओली समूहले पराजय भोगेको थियो । बागमतिमा माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादल स्वतन्त्र उम्मेदवारसँग पराजित भएका थिए भने लुम्बिनीमा एमालेबाट प्रदेशसभा जितेका द्रिगनारायण पाण्डे कांग्रेस प्रवेश गरेर चुनाव जितेका थिए । नेकपा विभाजनका कारण वामपन्थीहरुलाई राष्ट्रियसभामा दुई सीट घाटा लाग्दा कांग्रेसले भने एक सीट थपेको छ ।

पछिल्लो राजनीतिक ध्रुविकरण कायमै रहे आगामी चुनावमा वामपन्थी शक्ति सोचेभन्दा कमजोर अवस्थामा पुग्ने विश्लेषण गर्न थालिएको छ ।

टिप्पणीहरू