सेनामा कसैको राजीनामा,कसैको सरुवा जारी

सेनामा कसैको राजीनामा,कसैको सरुवा जारी

नेपाली सेनामा एक जना अधिकृतले अवकाश हुन केही दिन बाँकी छँदै राजीनामा दिएका छन् । वेतन वृत्ति (पेन्सनवाला अफिस) मा कार्यरत सहायक रथी सुरजबाबा सुनुवारले राजीनामा दिएका हुन् । ५ गते नियमसंगत तरिकाले अवकाश हुने सुनुवारले केही दिनअगावै राजीनामा दिएको स्रोतले बताएको छ ।

अवकाशपछि अन्तर्राष्ट्रिय संस्थामा पेश गरिने वैयक्तिक विवरणमा नियमित अवकाशमा गएकोभन्दा राजीनामा दिएको भन्ने भाषाले छुट्टै अर्थ राख्ने भएकाले त्यहि उद्देश्यसहित सुनुवारले राजीनामा दिएको अड्कल लगाइएको छ ।

सुरजबाबा उनै अधिकृत हुन् जसले राष्ट्रपति विद्यादेवी भण्डारी केही समयअघि बंगलादेशको राजधानी ढाका जाँदा प्रोटोकल म्यानेज गरेका थिए । अकस्मात राष्ट्रपतिकी जेठी छोरी उषाकिरण थापा पनि सँगै जाने कार्यक्रम तय भएपछि उनलाई कहाँ राखेर सेनाले विमानस्थलमा सलामी दिने भन्ने कुरोको आकस्मिक व्यवस्थापन उनैले गरेका थिए ।

सुनुवारको ठाउँमा विनोद पाण्डे गएका छन् । उनी त्यसअघि संगठनमा थिए । यसबीच विभिन्न इकाइमा रिक्त ठाउँ पूर्तिका लागि तीन जनाको एक तारेको सरुवा भएको बताइन्छ ।
सैन्य स्रोतका अनुसार अब बाहिनीपतिहरुको सरुवा साउनमा हुनेछ । तर त्यतिबेला हालका सेनापतिले अवकाश लिने अन्तिम महिना हुने भएकाले नयाँ सेनापतिको नियुक्ति पश्चात् मात्र पनि हुन सक्छ । त्यतिबेला को बाहिनीपतिमा गयो र को तानियो भन्ने विषयले सैन्य संगठनभित्र विशेष महत्व राख्ने गर्छ ।

सामान्यतयाः नयाँ आउने सेनापतिलाई सरुवाको मौका दिने गरिन्छ । त्यसैले हालका सेनापतिले कोही कसैलाई कुनै ठाउँमा राख्न खोजेको भए हुनेवाला सेनापतिलाई ‘फलानोलाई त्यहाँ राखिदिनु है’ भन्नेसम्मको आग्रह गरिने चलन रहेको छ ।

टिप्पणीहरू