बिदेशी पाहुना त्यो बाटो आए कस्तो होला बिजोग !

बिदेशी पाहुना त्यो बाटो आए कस्तो होला बिजोग !

उत्तरी चीनको व्यापारिक नाका रसुवागढी जोड्ने पासाङल्हामू राजमार्गको दुरावस्थाका कारण रसुवाको टिमुरेका जनताले दुःख भोग्नु परेको छ । रसुवागढी हुँदै चीनको केरुङसम्म जाने यो सडकको दुरावस्थाले स्थानीय जनता मारमा परेका छन् ।

रसुवाको धुन्चेदेखि छिमेकी राष्ट्र चीन जोडिने नाका टिमुरेको सडकको अवस्थाले स्थानीय जनताको दैनिकमा समेत नकारात्मक असर परेको छ । हिमाली क्षेत्र भएकोले यस क्षेत्रमा पर्याप्त उब्जनी नहुने र सबैकुरा किनेर चलाउनुपर्ने अवस्था रहेको छ । सडकको अवस्था राम्रो नहुँदा पर्याप्त सामान नपाइने र पाइएको सामान पनि महँगो हुने,बासी र सडेगलेको खाद्यान्न पुग्ने भएकोले स्थानीय जनताले दुःख पाएका हुन् ।

टिमुरेकी स्थानीय तारा रानामगर खाद्यान्न,लत्ताकपडा र तरकारी समेतमा काठमाडौंको भर पर्नुपरेको बताउँछिन् । अर्का स्थानीय व्यवसायी बलबहादुर घर्ती मगरले खराब बाटोको मारसँगै कोरोना संक्रमणको जोखिमका कारण लगाइएको निषेधाज्ञाले झन् कष्ट दिएको बताए ।

धुन्चे-टिमुरे सडकखण्ड स्तरोन्नति गर्ने विषय वर्षौदेखि योजनामा परेपनि समयमै काम हुन सकिरहेको छैन । मुख्य शहर जोड्न बाटो लामो भएको र सडकको अवस्था पनि सुध्रन नसकेपछि व्यापार,व्यवसाय हुन छाडेको तथा बिरामी भएर अस्पताल जानसमेत बाटोको कारण समस्यामा परेको स्थानीय छुनी डोल्मा लामाले बताइन् ।

रसुवाका सांसद (विघटित प्रतिनिधिसभा) मोहन आचार्यले सडकको स्तरोन्नति गर्न सरकारसँग विभिन्न चरणमा छलफल भएपनि मूर्तरुप पाउन नसकेको बताए । उत्तरी छिमेकी चीनसँग जोड्ने सहज नाकाको रुपमा हेरिएपनि आवश्यक भौतिक पूर्वाधारको कमिले प्रयोगमा आउन नसकेको आचार्यको भनाइ छ ।

सरकारले यस सडक खण्डलाई ‘एक निर्वाचन,एक रणनैतिक सडक कार्यक्रम’ अन्तर्गत पारेको हुँदा आगामी आर्थिक वर्षमा काम हुने आचार्यको विश्वास छ । सडकलाई पवित्र धार्मिकस्थल गोसाईकुण्ड जाने बाटोमा परिणत गर्नसके धार्मिक पर्यटनबाट आयआर्जन गर्न सकिने आचार्यले बताए ।

राजमार्गको ठीक तल मैलुङ- स्याफ्रुबेसी सडक पर्दछ । मैलुङ स्याफ्रुबेसी सडक टिमुरेसम्म पुग्ने भएकोले पासाङल्हामु राजमार्ग कतै ओझेलमा पर्ने हो कि भनेर स्थानीय चिन्तित बनेका छन् ।

टिप्पणीहरू