नागरिकता अध्यादेश रोकेकोमा महन्थ ठाकुर अदालतसङ्ग आगो

नागरिकता अध्यादेश रोकेकोमा महन्थ ठाकुर अदालतसङ्ग आगो

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकतासम्बन्धी अध्यादेश रोक्दा नागरिकता समस्या भयावह हुने बताउनुभएको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको नागरिकता संशोधन अध्यादेश तत्काल कार्यान्वयन नगर्न हिजो सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । अध्यादेश विरुध्द परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चको संवैधानिक इजलासले तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएपछि महन्थ खेमा रुष्ट बनेको हो ।

नवनियुक्त उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताउनुभयो । उहाँले ३ वर्षदेखि नागरिकतासम्बन्धी विधेयक संसदमा अड्किएको उल्लेख गर्दै संसदले निर्णय गर्न नसकेको दाबी गर्नुभयो ।

नागरिकताको अभावमा नागरिकहरु रोजगार,शिक्षा, व्यापार,व्यवसाय गर्न र विदेश जान समस्या भएको भन्दै ठाकुरले राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताउनुभयो । उहाँले नवनियुक्त मन्त्रीहरुलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन पनि दिनुभयो ।

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले जसपालाई देश र जनताको सेवा गर्ने अवसर प्राप्त भएकाले देश र जनताप्रति समर्पित भावले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो । देशको समृद्धि,विकास र जनताको अधिकारको निम्ति जसपाले सरकारमा बसेर इमान्दारीपूर्वक काम गर्ने उहाँको भनाइ छ।

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले आफ्नो विवेक र ल्याकतले भ्याएसम्म जिम्मेवारी निर्वाह गर्ने प्रतिवध्ता जनाउनुभयो । सरकारमा रहेर पार्टीको नीति, निर्देशन र उद्देश्य प्राप्त गर्न केन्द्रित हुने बताउँदै उहाँले सरकारको लक्ष्य प्राप्तिका लागि निष्ठापूर्वक काम गर्ने बताउनुभयो ।

टिप्पणीहरू