बाझ्दाबाझ्दै फिर्ता गए दुई दर्जन बाख्रा

बाझ्दाबाझ्दै फिर्ता गए दुई दर्जन बाख्रा

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा किसानका लागि भनेर खरिद गरिएका उन्नत जातका २६ वटा बाख्रा फिर्ता गरिएको छ । जमुना पारी जातको १५ केजीभन्दा बढी तौलका पाठी किसानलाई वितरण गर्न भन्दै आर्थिक चालु आर्थिक वर्षको बजेटमा रकम छुट्याइएको थियो । त्यहि बजेट सिध्याउन नगरपालिकाले हालै १८ लाख ४२ हजार रुपैयाँको पाठी खरिद टेन्डर आह्वानसमेत गरेको बताइन्छ ।

पहिलो चरणमा प्राप्त ५४ वटा पाठीमध्ये २६ वटा चित्त नबुझेपछि किसानले लिन नमानेर फर्काएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बताउनुभएको छ । किसानले उन्नत जातको नाममा छेरेर लखतरान भएका बाख्रा भिडाउन खोजेको भन्दै लिन अस्वीकार गरेका हुन् ।

तिवारीले जनआस्थासँगको कुराकानीमा नेपालगञ्जको केयरफाम नेपाल विद्युतीय माध्यमबाट हालेको टेण्डरमा छनौट भए पनि पहिलो चरणमा नै गडबड गरेको संकेत गर्नुभएको छ । उहाँका अनुसार उपयुक्त देखिएका पाठी किसानले लगेका छन् । तर, खरिद प्रक्रियामा नै नगरले चलखेल गरेको भन्ने समाचारमा सत्यता नभएको उहाँको दाबी छ ।

पालिकामा भ्रष्टाचारसम्बन्धी निगरानी गर्ने समूह रहेको र सोही समूहका सचिव रमेश खतिवडाको सहजीकरणबाट टेण्डर पास भएकाले अनियमितता हुने सम्भावना नरहेको उहाँको तर्क छ । तिवारीले भन्नुभयो ‘टेण्डरअनुसार तोकिएको समयमा भनेबमोजिमको पाठी नपठाएमा भुक्तानी गरिने छैन ।’

सोबारे नगरप्रमुख देवीलाल गौतमसँग बुझ्न खोज्दा उहाँले आफू जुम मिटिङ्गमा रहेको भन्दै बाख्रा खरिदको कुरो उठाउने बितिक्कै हतारमा फोन काटिदिनुभएको थियो । त्यसपछि नगरपालिकाका अर्का एक जना कर्मचारीले ‘मेयर माथि बसिरहनुभएको छ, कुनै मिटिङ्गमा हुनुहुन्न’ भन्ने जवाफ दिएका थिए ।

टिप्पणीहरू