नदीमा बेपत्ता धादिङका ५ जना अझै भेटिएनन्

नदीमा बेपत्ता धादिङका ५ जना अझै भेटिएनन्

धादिङमा नदीमा डुबेर बेपत्ता भएका पाँच जना अझै भेटिएका छैनन् । मंगलबार र बुधबार यसरी बेपत्ता भएकाको खोजी कार्य जारी रहे पनि हालसम्म उनीहरुको पत्तो नलागेको धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभएको छ ।

मंगलबार बूढी गण्डकीमा तीन जना, बुधबार आँखु खोलामा एक जना तथा त्रिशुली नदीमा एक जना बेपत्ता भएका थिए । उनीहरुको खोजी भइरहेको तर नभेटिएको प्रहरीले बताएको छ ।

उनीहरु सबैको कुरिन्टारस्थित सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरिरहेको छ । बूढीगण्डकी र आँखु दुबैमा गोताखोरको टोलीले खोजी गरिरहेको भण्डारीले बताउनुभएको छ ।

गाउँका आफन्तको मृत्युपछि अन्त्येष्टिका लागि मलामी गएका ज्वालामुखी गाउँपालिका–२, जोगीटारका तीन जनालाई नुहाउने क्रममा बूढीगण्डकीले बगाउँदा बेपत्ता भएका थिए । अन्य दुई जना नदीमा जानुको कारण हालसम्म खुलेको छैन ।

टिप्पणीहरू