निष्ठा परिवर्तन र राष्ट्रिय झण्डाको के हो साइनो ?

निष्ठा परिवर्तन र राष्ट्रिय झण्डाको के हो साइनो ?

सत्ता टिकाउन संसदीय राजनीतिमा केसम्म हुँदैन ! सांसद किनबेच,पार्टी फुटाउनेदेखि सांसद अपहरणसम्मका घटना नेपाली राजनीतिमा देखिंदै आएको छ । संसदीय राजनीति विशेषता जस्तै बनेको सत्ता राजनीतिको विकृत खेल पछिल्लो समय घटेको छैन, झन् बढेको छ ।

स्थिर सरकार र राजनीतिक स्थायित्वको नारा दिएर साढे तीन वर्षअघि सरकारको नेतृत्व गरेको वामपन्थी शक्ति आफैँ अस्थिर हुँदा १९ औं पटक मन्त्रिमण्डल पुनर्गठन भैसकेको छ । आफ्नै पार्टीले पाएको झण्डै दुई तिहाई मत जोगाउन नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार टिकाउन स-साना दलको सहारा लिनुपरेको छ । सरकार जोगाउनैका लागि जसपा फुटाएको आरोप लागिरहेका बेला प्रधानमन्त्री ओलीले पार्टी छोड्ने र गुट फेर्नेलाई भटाभट मन्त्री दिएर पुरस्कृत गरिरहनुभएको छ । पछिल्ला दुई मन्त्रिपरिषद पुनर्गठनमा अस्थिर राजनीतिक चरित्रका पात्रहरुले महत्वपूर्ण जिम्मेवारी पाएका छन् । ओलीको मन्त्रिपरिषदमा पार्टी छोडेका र गुट फेरेकाहरुको बाहुल्यता छ ।

प्रधानमन्त्री ओलीले हिजो गरेको मन्त्रिपरिषद बिस्तारमा माओवादी छोडेर एमाले प्रवेश गरेका दुई जना समेटिए । पूर्वगृहमन्त्री तथा एमाले नेता रामबहादुर थापा बादलपत्नी नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइयो । सक्रिय राजनीतिबाट पूरै बाहिर रहेकी थापा माओवादी छाडेर एमाले प्रवेश गरेकै कारण मन्त्री बनेकी भन्नेहरुको कमि छैन । माओवादी छाडेर एमाले प्रवेश गरेपछि सांसद पद गुमाएका सात मन्त्रीको पद अदालतले खुस्काइदिएको र पूर्वमाओवादी खेमामा अर्को उपयुक्त पात्र नभेटेर बादलपत्नीलाई मन्त्री बनाइएको चर्चा छ ।

पूर्वमाओवादीबाटै मन्त्री बनेकी ज्वालाकुमारी साह प्रदेशसभा सदस्यबाट कारवाहीमा परेकी हुन् । माओवादीको तर्फबाट बारा निर्वाचन क्षेत्र नं. ३(क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित साह एमाले प्रवेश गरेपछि कारवाहीमा परेकी हुन् । माओवादीको कारवाही साहका लागि पुरस्कारजस्तो भयो,त्यसैले उनी अहिले संघीय सरकारको कृषिमन्त्री बनेकी छन् ।

गुट परिवर्तन गरेर मन्त्री खाने अर्का नेता हुन् गणेश पहाडी । एमालेको माधव नेपाल पक्षमा खुलेर लागेका पहाडी केही समयअघि मात्र ओलीतिर फर्किएका थिए । गुट परिवर्तनले पहाडीलाई फाइदा गर्यो,र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको पद हात लाग्यो ।

गुट फेरेर मन्त्री पाउने अर्का नेता हुन् शेरबहादुर तामाङ्ग । तामाङ्ग पनि केही समय अघिसम्म एमालेको माधव नेपाल खेमामा सक्रिय थिए । ओलीको चर्को बिरोध गर्दागर्दै त्यतै पुगेका उनलाई दोहोरो जिम्मेवारीले पुरस्कृत गरिएको छ । अस्तिको मन्त्रिपरिषद पुनर्गठनमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका तामाङ्ग एमाले केन्द्रीय कार्यालय सचिवको पनि भूमिकामा छन् । ओलीलाई साथ् दिएबापत श्रीमती उषाकला राईलाई यसअघि नै प्रदेश–१ को सामाजिक विकास मन्त्री बनाइएको थियो ।

गुटको राजनीति सबैभन्दा बढी फापेको छ,नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठलाई । कहिले माधवतिर त कहिले ओलीतिर चाहार्दा चाहार्दै महासेठलाई बढोत्तरी भएर सरकारको महत्वपूर्ण जिम्मेवारी हात लागेको छ । अचम्मलाग्दो कुरा चैं अघिल्लो पटक भैतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका महासेठलाई कार्यसम्पादनमा कमजोर देखिएको भन्दै बर्खास्त गरिएको थियो । उनै महासेठलाई अहिले बढुवा गरेर महत्वपूर्ण मन्त्रालय दिनुमा गुट चेन्ज नै मुख्य कारण मानिएको छ । महासेठ यस्तो भाग्यमानी हुन्,घरमा मन्त्री पद खुमिफिरी आइरहन्छ । पहिला माधव गुटमा लागेका महासेठ सरकार बाहिर रहँदा श्रीमती जुली महतो ओलीतिर लागेर महिला तथा बालबालिका मन्त्री भएकी थिइन् ।

सरकार जोगाउन साथ दिएबापत जसपाको महन्थ ठाकुर खेमा झन् धेरै पुरस्कृत भएको छ । पुग नपुग डेढ दर्जन सांसद (विघटित प्रतिनिधिसभामा) भएको महन्थ खेमाले महत्वपूर्ण ९ मन्त्रालय तर ११ मन्त्री पाएको छ । २ नम्बर प्रदेशबाट मन्त्री बन्नेको संख्या अत्यधिक हुँदा मन्त्रिपरिषद समावेशी हुन नसकेको आवाज उठिरहेका बेला हिजो फेरि त्यहि प्रदेशबाट राजकिशोर यादवलाई मन्त्री बनाइएको छ । उपेन्द्र यादवतिर जान लागेको आरोपमा महन्थ खेमाले मन्त्रीको लिष्टबाट हटाएका यादवलाई उध्योगमन्त्री बनाएर सिंहदरबार प्रवेश गराइएको हो ।

 

 

टिप्पणीहरू