अर्थमन्त्रीको जिल्लामा निषेधाज्ञावीच तस्करी धमाधम,प्रशासन मौन

अर्थमन्त्रीको जिल्लामा निषेधाज्ञावीच तस्करी धमाधम,प्रशासन मौन

-एनपी क्षेत्री

बिहिबार रुपन्देही प्रहरीले भारतबाट चोरी तस्करी गरेर ल्याइएको ५८ बोरा चिनी गल्लामण्डीस्थित रचना स्टोरबाट बरामद गरेसङ्गै सन्चालक देवप्रसाद श्रेष्ठलाई समेत समातेको छ ।

तीन दिनअगाडि पनि जिल्ला प्रहरी कार्यालयकै टोलीले भारतबाट नेपालतर्फ भन्सार छली,चोरी पैठारी गरी अवैध सामानहरु ओसार(पसार गरेको अवस्थामा ४ लाख ६५ हजार ५ सय ५० मूल्य बराबरको सामान बरामद गरेको थियो ।

यी एक हप्ताका दुई सूचनाले नै रुपन्देहीमा चोरी तस्करी नरोकिएको प्रष्ट हुन्छ । बडो आश्चर्यको बिषय त यो छ कि रुपन्देहीमा निषेधाज्ञा जारी छ । यो समय सर्वसाधारण सडकमा हिंडे पनि संक्रामण रोग ऐन ,२०२० अनुसार एक महिना जेल हुन्छ । सोहि नियमअनुसार रुपन्देहीमा ९ जनाले उक्त कारवाही भोगिसकेका छन् ।

तर तस्करहरुले सीमामा खटिएका सैयौँ सुरक्षाकर्मीको आँखा छलेर ३ किलोमिटर दूरीमा रहेको भैरहवा बजारको गोदाम घरमा सहजै सामान ल्याउन कसरी सकिरहेका छन् १ यतिबेला सर्वसाधारणले समेत भन्न थालेका छन्,सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमतोमा यी सबै भैरहेको छ । नत्र कसरी सम्भव छ,निषेधाज्ञामा बोर्डरबाट भैरहवासम्म सामान ल्याउन प्रहरीको सहयोग बिना सम्भव हुँदैन ।

रुपन्देही जिल्लाको दक्षिणी भूगोल छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशअन्तर्गत महाराजगंज र सिध्दार्थनगर जिल्लाका सिमानासंग जोडिएको छ । जिल्लाको रोहिणी गाउँपालिका , सिध्दार्थनगर नगरपालिका, मायादेवी गाउँपालिका, कोटहीमाई गाउँपालिका,मर्चवारी गाउँपालिका,सम्मरीमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाको विभिन्न क्षेत्र भारतसंग प्रत्यक्ष जोडिएको छ ।

पूर्वमा रोहिणी गाउँपालिकादेखि पश्चिममा लुम्बिनी साँस्कृतिक नगरपालिकासम्मको साढे ५९ किलोमिटर क्षेत्र भारतसंग जोडिएको छ । ती क्षेत्रमा सीमा सुरक्षाकोलागि एकले अर्कोलाई देख्नेगरी निश्चित दूरीमा सशस्त्र प्रहरी खटिएका छन् । यसैगरी बोर्डरमा नेपाल प्रहरीको तैनाथी पनि उत्तिकै छ । सशस्त्र र नेपाल प्रहरीको उक्त तैनाथी चोरी तस्करी रोक्नुभन्दा असुलीमा केन्द्रित भएको आभाष हुन थालेको छ ।

सीमाको ड्युटीमा खटिएका सुरक्षाकर्मीले त रोक्न सकेनन् सकेनन् तर जिल्ला प्रहरी कार्यालय नजिकै निषेधाज्ञा उल्लंघन गरी चोरी तस्करीका सामान गोदाम गर्ने,बिक्रि वितरण गर्नेसमेत प्रहरीको नजरमा पर्न सकेका छैनन् ।

भैरहवाको बैंकरोडमा एउटा मात्रै पसल खुल्ला छ । अरु सबै पसल बन्द भइरहँदा करणी इन्टरप्राइजेजमा बिहानैदेखि साँझ सम्म भीड हुन्छ तर प्रहरीले देखेको छैन । उक्त पसलबाट अक्सिमिटर र मोबाइलको कारोबार हुन्छ ।

बर्मेलीटोलमा रहेको माईक्रो ईलेक्ट्रोनिक्समा भारतबाट अवैध रुपमा भित्राईएका ईलेक्ट्रिक सामानको गोदाम नै छ । उक्त पसलले बाहिर सटर बन्द गरेर पछाडिबाट दुकान खुल्ला छ भन्ने सूचना टाँसी व्यापारीहरुलाई सामान बेचिरहेको छ ।

गल्लामन्डीमा रातिको समय रमिता नै हुन्छ । भैरहवा बजार सुनसान भइरहँदा गल्लामण्डी जागा हुन्छ । स्थानीय प्रशासनले राति ८ बजेदेखि बिहान ४ बजेसम्म गल्लामण्डीका खाद्यान्न पसल खोल्न अनुमति दिएको छ । पहाडी क्षेत्रमा खाद्यान्न सप्लाई गर्ने पसलहरु निषेधाज्ञाको कारण बन्द गर्दा पहाडी क्षेत्रमा वर्षा बढेसंगै बाटाघाटामा पहिरो जाने,पुल भत्किने हुँदा पछि सामान पुर्याउन असहज हुने कारण देखाउँदै खोलिएको भएता पनि त्यहाँका केही ब्यापारीले राती चोरी तस्करी मज्जैले गरेका छन् । जिल्लाको मैनिहिया,म्युडिहवा र मर्चवार यतिबेला तस्करका भरपर्दा नाका भएका छन् ।

दक्षिण सीमाना जोडिएका मुख्य नाकाहरु बेलहिया,भगवानपुर,मनहरापुर, अमवा,सेमरपाना,कदमहवा, खैराघाट,ठोटरी,चण्डीघाट, दुबेथुमुवा,हडवड,कालीदह हुन् । यी नाकामा सुरक्षाकर्मीको ड्युटी छ । तर सुरक्षाकर्मीको आँखा छलेर यतिबेला सामान ओसार्नु सम्भव नभएको स्थानीय बताउँछन् ।

सेमरपानेका एकजना स्थानीयले भने “अरे सर,पहिले रातिमा समान ओसारपसार हुन्थ्यो यतिबेला दिउँसो मध्यान्हमा हुन्छ” सुरक्षाकर्मीले सर्वसाधारण बाहिर निस्के गाली गर्ने,अटेर गरे संक्रामक रोग ऐन अनुसार थुन्ने समेत गरिरहँदा चोर तस्करहरुसंग असुली भैरहेको छ ।

टिप्पणीहरू