पोखरामा डन डन,अहिले काभ्रेली होल्डमा छन् । दिपक मनाङ्गे होटेलमा,गणेश लामा हिरासतमा

पोखरामा डन डन,अहिले काभ्रेली होल्डमा छन् । दिपक मनाङ्गे होटेलमा,गणेश लामा हिरासतमा

निषेधाज्ञाको समय अस्ति रातारात पोखरा पुगेका नेपाली काँग्रेसको विजय गच्छदार निकट काभ्रेली डन गणेश लामा लेकसाइडस्थित बैदाम प्रहरीको हिरासतमा छन् ।उनले पुगेकै दिन या हिजो गण्डकी प्रदेश सरकारमा एक महिनावीच दुई चोटि शपथ खाएका युवा,खेलकुद मन्त्री तथा अर्का डन दिपक मनाङ्गे (राजीव गुरुङ) लाई भेट्न पाए या पाएनन् प्रष्ट छैन । तर दिपकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत नदिएको भने पक्का हो । उनी बिहानैदेखि दुइटै मोबाइल बन्द गरी बेपत्ता भएर राती राजीनामापत्र पठाएका थिए ।

प्रहरीले उनलाई हिजो राती स्थानीय होटल साँग्रिलामा फेला पारेको थियो । त्यसअघि दिनभर उनी बरपिपल होेटलमा बसेका थिए । मन्त्री खोज्दै गएको प्रहरी टोलीलाई उनले उल्टै किन आएको ? भनेर सोधे । मन्त्रीज्यू सम्पर्कविहीन हुनुभएकाले खोज्दै आएको भन्ने प्रहरीको भनाईमा उल्टै मनाङेले आफूखुशी बसेको बताएका थिए ।

यसैबीच राती नै मन्त्री मनाङ्गेले प्रदेशसभा जोगाउन आफूले मन्त्रीबाट राजिनामा दिएको बताएका छन् । उनले मुख्यमन्त्री गुरुङ्गलाई विश्वासको मत नआउने देखिएपछि हुनसक्ने प्रदेशसभा विघटनको निर्णय रोक्न विपक्षी गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको बताउँदै यसबीच मन्त्री बन्ने मौका दिएकोमा मुख्यमन्त्रीलाई धन्यवादसमेत भनेका छन् ।

यसअघि अर्का डन गणेश लामा काठमाडौंबाट तीन जनाको टोली लिएर बुधबार नै पोखरा पुगेका थिए । गण्डकी प्रदेशको विकसित पछिल्लो राजनीतिक घटनाक्रममा मलजल गर्न वा भत्काउनको लागि त्यहाँ गएको कुनै पुष्टि नभए पनि लामाको टोली निषेधाज्ञाको समय लेक साइडमा भेटिएको हो । बैदामको एउटा बुटिक होटलमा भेटिएका उनीहरुलाई प्रशासनले ‘होल्ड’ मा राखेको बताएको छ ।

निषेधाज्ञा तोड्दै बिना पास पोखरा आएकाले आज कास्कीका सिडिओले उक्त टोलीको आवतजावत र बसाईबारे आवश्यक निर्णय गर्ने बताइएको छ । यसबीच दीपक मनाङ्गे र उनीहरुबीच भेट भएको वा नभएकोबारे भने स्रोतले केही बताएको छैन ।

टिप्पणीहरू