‘जिउँदो लाश’ बनेकी मोडल निशाको मेघाद्वारा उध्दार (भिडियो सहित)

‘जिउँदो लाश’ बनेकी मोडल निशाको मेघाद्वारा उध्दार (भिडियो सहित)

दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छट्पटाइरहेकी कलाकार तथा मोडल निशा घिमिरेको आज उध्दार गरिएको छ । नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उध्दार गर्नुभएको हो ।

तीन वर्षअघि मोडल रहेकी निशा घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ देखिएको थियो । निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् ।

तीन वर्षअघि भारतको देहरादूनमा भएको सडक दुर्घटनामा उनी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनापछि भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, उपचार खर्च निकै महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका अभिभावकले छोरीलाई नेपालमै ल्याउने निर्णय गरे ।
काठमाण्डौंको ट्रमा सेन्टरमा तीन महिनाको उपचार र त्यसपछि चिकित्सकहरुको सल्लाहमा उपत्यकाका विभिन्न थेरापी सेन्टरहरुमा नियमित थेरापी गरियो । थेरापीको निम्ति अर्थ अभावसँगै कोरोना संक्रमण बढेपछि घरमै राखिएको थियो ।


उनको दयनीय शारीरिक अवस्थाबारे नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले सामाजिक सञ्जालमा लेखेपछि नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्दै उपचारको प्रबन्ध र उध्दारको व्यवस्था मिलाएको बताइन्छ ।

दाहालका अनुसार दुर्घटनाअघि खाइलाग्दी शरिरकी घिमिरे अहिले सुकेर २० किलोग्रामको भएकी छन् । अस्थिपञ्जर मात्र देखिन थालेपछि उनलाई आफन्तले समेत चिन्न मुश्किल पर्न थालेको दाहाल बताउँछन् ।

आज बिहान अस्पतालले आफ्नो एम्बुलेन्सबाट उनको उध्दार गरेको हो । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ । तर शरीरका महत्वपूर्ण अरु अङ्गमा ठूलो समस्या नरहेको चिकित्सकहरुले बताएका छन् ।

नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने बताएको उल्लेख गर्दै दाहालले भनेका छन् ‘पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठीक नहोला तर कम्तीमा आफैं हिँडडुल गर्नसक्ने, खानसक्ने र केही बोल्न सक्नेसम्म भयो भने पनि धेरै हुन्छ ।’

अहिले उनी बोल्न सक्दिनन् । अरुले नै खुवाइदिनुपर्छ । कसैले केही कुरा गरेमा सुन्न सक्छिन् तर बुझेर आँसु भने बगाउँछिन् । जवाफ दिन नसक्ने अवस्थामा छिन् ।

छोरीको उध्दार भएकोमा निशाका बुबाले भने ‘छोरी जिउँदो लाश भएर लडेको तीन वर्ष भयो । अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको छ ।’

नर्भिककी प्रबन्ध निर्देशक मेघाले घिमिरेको दर्दनाक अवस्था फोटोमा देखेपछि आफूले उद्धार गरेको बताउनुभएको छ । आफ्नै समन्वयमा सम्भव हुने सबै उपचार गरिने उहाँले जानकारी दिनुभयो ।

चौधरीले यसअघि पनि समस्यामा परेका दर्जनौं असहायको उध्दार गरी निःशुल्क उपचारको व्यवस्था गरिसकेको बताइन्छ ।

टिप्पणीहरू