लडाइँ चलेको देशबाट प्रम ओलीलाई डा. गोविन्द केसीको पत्र-‘भोलि गलत निर्णय नगरियोस्’

लडाइँ चलेको देशबाट प्रम ओलीलाई डा. गोविन्द केसीको पत्र-‘भोलि गलत निर्णय नगरियोस्’

सामाजिक अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तारोहण राजनीतिको भ्रष्टिकरण,भिजिलान्तेकरण र अपराधिकरणमा आधारित रहेको र राज्य सञ्चालकमा हुनुपर्ने न्यूनतम नैतिकतासमेत उहाँले गुमाइसकेको बताउनुभएको छ ।

उहाँले चिकित्सा शिक्षाको व्यापारिकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षक ओली नै रहेको उल्लेख गर्दै देशका सबै प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने सम्बन्धमा सरकारले पटक पटक सम्झौता गरे पनि प्रधानमन्त्री ओलीले माफियाहरुको इशारामा उक्त सम्झौता कार्यान्वयन नगरेको आरोपसमेत लगाउनुभएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार वि सं २०८० फागुनसम्म हाल सरकारी प्रतिष्ठान वा मेडिकल कलेज नपुगेका सबै प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज पुग्नैपर्ने प्रावधान भए पनि प्रधानमन्त्रीले आफू निकट माफियाहरुको इशारामा अघि बढेका प्रतिष्ठानहरुको कामसमेत रोकेर राखेको र मेडिकल कलेज खोल्ने सम्झौता भएका कतिपय ठाउँमा कामै शुरु हुन नदिएको आरोप पनि लगाउनु भएको छ ।

भोलि बोलाइएको चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठकतर्फ लक्षित गर्दै केसीले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले यसअघि नै पाँच वटाभन्दा बढी मेडिकल कलेजहरुलाई सम्बन्धन दिइसकेका कारण चिकित्सा शिक्षा ऐनअनुसार सम्बन्धन दिन नसक्ने भएपनि आकस्मिक बैठकबाट अवैध निर्णय गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजिएको उहाँले आशंका गर्नुभएको छ ।

हाल गृहयुद्धमा फसेको मध्यपूर्वको यमनमा सर्वसाधारणको उपचारमा संलग्न केसीले आफ्ना माग पूरा नभएमा वा सरकारले यसअघि गरेका सहमति कार्यान्वयन नगरेमा पुनः सत्याग्रह शुरु गर्ने बताउनुभएको छ ।

टिप्पणीहरू