निषेधाज्ञामा पनि चोर र तस्करको बिगबिगी, बुधबार मात्रै ८ जना पक्राउ

निषेधाज्ञामा पनि चोर र तस्करको बिगबिगी, बुधबार मात्रै ८ जना पक्राउ

निषेधाज्ञा र महामारीमा पनि चोर र तस्करीको बिगबिगी बढेको छ । हिजो मात्रै मुलुकका विभिन्न भागबाट तीन जना चोर र ब्राउनसुगर तस्कर गर्ने पाँच जना पक्राउ परेका छन् ।

काठमाण्डौँको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा एक जना, झापामा बैंकिङ कसूर तथा चोरी मुद्दाका फरार दुई जना र सुनसरी, कञ्चनपुर, बर्दियामा लागूऔषधसहित पाँच जना पक्राउ परेका हुन् ।

काठमाडौंको भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा डडेलधुराको सेतीबेशी गाउँपालिका–४ का २१ वर्षीय दिनेश क्षेत्री पक्राउ परेका छन् । बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले उनलाई चोरीमा प्रयोग हुने औंजारसहित पक्राउ गरेको हो ।

उता, झापामा बैंकिङ कसूर तथा चोरी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ परेका छन् । भद्रपुर नगरपालिका–७ का ३२ वर्षीय सुदिप भट्टराई आज पक्राउ परेका हुन् । उच्च अदालत पाटनको २०७६ माघ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद, २ लाख ७५ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा २२ हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला सुनाइएपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यसैगरी चोरी मुद्दाका फरार प्रतिवादी भद्रपुर नगरपालिका–१ का ३८ वर्षीय मदन सुब्बा योङहाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । पुनरावेदन अदालत इलामको २०७३ वैशाख ७ गतेको फैसलाले १ महिना १५ दिन कैद र ४७ हजार २ सय ८५ रुपैयाँ १० पैसा जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

दुवै जनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशपछि कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस्तै, हिजै ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका–८ भान्टाबारीबाट करिब ४ ग्राम ब्राउन सुगरसहित सोही ठाउँका ४० वर्षीय शम्भु कबिरथ बुधबार साँझ पक्राउ परेका हुन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

त्यस्तै,कञ्चनपुरको भीमदत्त नगरपालिका–४, सुन्दराटोलका भुवन साहु आफ्नै घरमा रहेको होटल एण्ड लजबाट १ ग्राम ४२ मिलिग्राम लागूऔषध ब्राउन सुगर र ३ हजार ६ सय ५५ रुपैयाँसहित बुधबार साँझ पक्राउ परेका छन् भने, कञ्चनपुरको बेलौरी नगरपालिका–९ रतनपुर खजुवाबस्तीबाट १२ ग्राम २० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँका १९ वर्षीय गोपाल ठगुन्ना बुधबार दिउँसो पक्राउ परेका हुन् ।

बर्दियाको मधुवन नगरपालिका–८ लालीबजारबाट करिब ५ सय मिलिग्राम ब्राउन सुगर र नगद ११ हजार २ सय रुपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँका ३२ वर्षीय पप्पु अन्सारी र २३ वर्षीय विकास चौधरी रहेका छन् । पैदल हिँडिरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उक्त पदार्थ सहित फेला परेको हो ।

टिप्पणीहरू