भ्याकेटवाला मुद्दा फेरि उनै श्रीमानको इजलासमा

भ्याकेटवाला मुद्दा फेरि उनै श्रीमानको इजलासमा

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पदबहाली गर्ने सर्वोच्च अदालतको यही जेठ २३ गतेको अन्तरिम आदेशविरुध्द दर्ता भएको भ्याकेटवाला मुध्दा न्यायाधीश कुमार चुडाल र सपना प्रधान मल्लको इजलासमा परेको छ ।

मंगलबार चुडालको एकल इजलासले थापाको पद थमौती गर्ने निर्णय सुनाएको थियो । अदालतको आदेशविरुध्द गण्डकी प्रदेशका सभामुख नेत्रप्रसाद अधिकारी र जनमोर्चा संसदीय दलकी नेता पियारी थापाले पुनरावलोकन (भ्याकेट) निवेदन दिएका हुन् ।

अन्तरिम आदेश दिने न्यायाधीशकै इजलासमा भ्याकेट मुध्दा परेपछि केही कानुन व्यवसायीले प्रश्न उठाएका छन् । केहिले भने अस्तिको सुनुवाइमा विपक्षी कानुन व्यवसायीहरुले पनि बहस गरेकाले चुडालकै इजलासमा भ्याकेट राख्न मिल्ने बताए ।

‘विपक्षी वकिलहरुले बहस नगरेको अवस्थामा चैं अन्तरिम आदेश दिने न्यायाधीशले भ्याकेट मुद्दा हेर्न मिल्दैन,नत्र मिल्छ’, एकजना बरिष्ठ अधिवक्ताले भने ।

यध्यपि न्यायाधीश आफैंले विवेक पुर्याएर मुद्दा हेर्ने नहेर्ने निर्णय गर्नुपर्ने उनको भनाइ छ । ‘भ्याकेटमा इजलासले हेर्न पनि सक्छ,नहेर्न पनि सक्छ । विपक्षीका वकिल नआएको भए हेर्न नमिल्ने हुन्थ्यो । उताबाट बहस भएकाले मिल्ने देखियो’, उनले भने ।

मुद्दामा राष्ट्रिय जनमोर्चाको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र पदम रोकाले बहस गरेका थिए ।

यता आजै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले विश्वासको मत लिने प्रदेशसभाको कार्यसूची छ । यसअघि जनमोर्चाका सांसद थापा पार्टी ह्वीप विपरित मुख्यमन्त्रीको पक्षमा उभिएपछि गण्डकी सरकार थामिएको थियो ।

वैकल्पिक सरकार गठनका लागि विपक्षी गठवन्धलाई साथ् दिने पार्टी निर्णय विपरित थापा सत्तारुढ दलको पक्षमा उभिएपछि जनमोर्चाले उनलाई पदमुक्त गरेको थियो । त्यसका विरुद्ध थापा अदालत गएका थिए ।

टिप्पणीहरू