स्वास्थ्य सूचना,जीवन मरणको प्रश्न र सामाजिक दायित्व « janaaastha.com
४ असार २०७८, शुक्रबार

स्वास्थ्य सूचना,जीवन मरणको प्रश्न र सामाजिक दायित्व



-अनमोल थापा

कुनै पनि महामारीले एक अमुक समुदायलाई नभई सम्पूर्ण मानव समुदायलाई नै आफ्नो सिकार बनाउने गर्छ । हो, त्यसैगरी कोभिड–१९ ले पनि मानव जातिको अस्तित्वमाथि धावा बोलेको छ । यसको प्रभाव दीर्घकालसम्म थोर–बहुत सहनै पर्ने बाध्यता हामीसामु छ ।

विश्वभरको विभिन्न मुलुकका वैज्ञानिक अहोरात्र कोरोना भाइरससँग जुध्ने उपायको खोजीमा छन् । यसको रामबाण इलाज भनेको सम्पूर्ण मानिसलाई कोभिडविरुद्ध खोपको पहुँचमा ल्याउनु हो ।

“आफ्नो ‘प्रोडक्ट’को विज्ञापनलाई सान्दर्भिक बनाउन भए पनि आफ्नो ‘कोर्पाेरेट सोसल रेस्पोन्सिबिलिटी’ किन निर्वाह नगर्ने?”

चिकित्सा विज्ञानको चमत्कारले यति छोटो समयमा खोप बने पनि सम्पूर्ण व्यक्तिलाई यसको दायराभित्र ल्याउन केही समय भने पक्कै पनि लाग्नेछ। जबसम्म सबै व्यक्तिलाई खोपको दायराभित्र ल्याउन सकिन्न तबसम्म सुरक्षाका उपाय अपनाउनुपर्ने हुन्छ। यस महामारीबाट आफ्नो ज्यानको समेत सुरक्षा गर्न धौधौ परेको बेलादेखि आजसम्म पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीले यसबीच उच्च भूमिका खेल्दै आएका छन् ।

महामारीको यस विषम बखतमा सूचनाले जीवन र मरणको प्रश्नको उत्तर दिने काम गरेको हुन्छ। यस्तो परिस्थितिमा सही जानकारीले कुनै व्यक्तिको ज्यान जोगाउन सक्छ भने गलत सूचनाले कत्तिको ज्यान नै जोखिममा पर्न सक्छ ।

यस कुरालाई ध्यानमा राखी सरोकारवाला निकायले विभिन्न माध्यमलाई प्रयोग गरी जानकारीमूलक कार्यक्रम सञ्चालन गरेका छन्। जनतालाई सचेत र सुसूचित गराउन नेपाल सरकारले आफ्नो छापा र दूरसञ्चारलाई माध्यम बनाई कोभिड– १९ को प्रेस वक्तव्यद्वारा सम्प्रेषण गर्ने गरेको छ ।

त्यस्तै, सञ्चार जगत्ले पनि कोभिड–१९को विषम परिस्थितिका बाबजुत पनि आफ्नो खबर कार्यक्रमलाई उत्तिकै सक्रियतासाथ निरन्तरता दिइरहेका छन् ।

त्यसैगरी, जनस्वास्थ्यको क्षेत्रमा आबद्ध साथीहरूले पनि स्वयंलाई पर्वाह नगरी महामारीको प्रकोपसँग जुध्न गर्नुभएको योगदान सर्वविदितै छ । कुनै पनि महामारीलाई परास्त गर्न केवल सरोकारवाला निकायको मात्रै एकल प्रयासले सम्भव हुदैन ।

यस युद्धको परिस्थितिमाथि विजय प्राप्त गर्न के के सरोकारवाला, के सञ्चारक्षेत्र, के स्वास्थ्यक्षेत्र के जनसमुदायस्तर सबैको भूमिका धेर–थोर आवश्यक हुन्छ नै । हामीले पनि जनस्तरबाट आफ्नो पहुँच र क्षमताले भ्याएसम्म सही र तथ्यपरक खबर फैलाउन सक्छौँ ।

जस्तैः हामी शहरमा बस्छौँ भने सायदै कुनै ठाउँ होला जहाँ इन्टरनेट नपुगेको होस्। त्यसलाई सदुपयोग गरी सही र तथ्यमा आधारित सूचना फैलाउन सक्छौँ। त्यति मात्र नभएर हामीले हाम्रो घरमा चलाउने वाईफाई को नाम पनि जनहितमा जारी विभिन्न सन्देश ‘क्रिएटिभ’ तरिकाले राख्न सक्छौँ ।

त्यसैगरी, व्यापारिक घराना र ‘विज्ञापन एजेन्सी’हरूले उपभोग्य सामग्री तथा विज्ञापनका लागि प्रयोग गरिने ‘लेबल’मा समेत स्वास्थ्य जानकारी समेट्न सकिन्छ । अहिलेको विषम परिस्थितिमा आफ्नो ‘प्रोडक्ट’को विज्ञापनलाई सान्दर्भिक बनाउन भए पनि आफ्नो ‘कोर्पाेरेट सोसल रेस्पोन्सिबिलिटी’ किन निर्वाह नगर्ने ?

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

“जीरो ईरोर (डिफेक्ट्) सिण्ड्रोम” बाट ग्रसित नेपाली सेना
अन्तरिक्षबाट यस्तो देखियो नेपाल र हिमालय क्षेत्र (फाेटाे फिचर)
दलाए दलाए, अन्तिममा ढलाए
अष्ट्रेलियाको भन्दै सुर्खेतको बाँड्दै
Add

Scroll Up