ईश्वरले भन्नुभयो-यो पाराले छ महिना पनि टिक्दैन, ओलीको हतासा र ईश्वरका कुरा « janaaastha.com
५ असार २०७८, शनिबार

ईश्वरले भन्नुभयो-यो पाराले छ महिना पनि टिक्दैन, ओलीको हतासा र ईश्वरका कुरा



आफैंले चालेको एकपछि अर्को असफल कदमका कारण पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक रुपमा कमजोर बन्दै जानुभएको छ । पार्टी र सरकार दुबैतिर एकलौटी गर्ने प्रयास असफल हुँदा उहाँ अहिले राष्ट्रिय राजनीतिमा रक्षात्मक अवस्थामा पुगेको बताइन्छ ।

दुई पटकको संसद विघटन,नेकपा हुँदै एमालेसम्मको विभाजन र सरकारको अलोकप्रियताका कारण प्रधानमन्त्रीको ओरालो यात्राको काउण्टडाउन शुरु भैसकेको बिश्लेषकहरु बताउँछन् । यसवीच ओलीको विकल्पमा विपक्षी दलले केन्द्रदेखि प्रदेशसम्म मोर्चा कसेका छन् ।

पार्टी र सरकार दुबैतिर ओली क्रमशः कमजोर हुँदै जानुका पछाडि उहाँकै कार्यशैली मुख्य जिम्मेवार रहेको धेरैको बुझाइ छ । नेकपाले पाएको झण्डै दुई तिहाई जनमत खण्डित हुँदा होस् या एमाले विभाजनको संघारमा पुग्नुमा होस् नेतृत्वको हिसाबले उहाँको कार्यशैली नै जिम्मेवार रहेको टिप्पणी हुने गरेको छ ।

एकातिर प्रदेशमा विपक्षी गठवन्धनको सहकार्य सफल बन्दै जानु,अर्कोतिर संवैधानिक इजलास गठनमा आफूले चाहेअनुसार नहुनुले ओली हतास बनेको बताइन्छ ।

ओली कमजोर बन्दै जानुका पछाडि उहाँको आफ्नै कार्यशैली मुख्य जिम्मेवार रहेपनि उहाँनिकट दोस्रो तहका नेताहरुको अस्वस्थ प्रतिस्पर्धा पनि उत्तिक्कै जिम्मेवार रहेको कतिपयको बुझाइ छ । बाह्य परिस्थितिसँगै आफ्नै समूहभित्रको अन्तरकलह व्यवस्थापनमा चुक्दा प्रधानमन्त्री ओली झनझन कमजोर बनिरहेको बालुवाटारनिकट एक नेताले बताए ।

ओली समूहमा अहिले उहाँको उत्तराधिकारीका लागि अप्रत्यक्ष होडबाजी चलिरहेको छ । ओलीपछिको नेतृत्वका लागि ईश्वर पोखरेल,सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल प्रतिष्पर्धामा छन् । केही बर्षदेखि प्रधानमन्त्रीको रोजाइमा शंकर पोख्रेल परेपछि ईश्वर चिढिएको चर्चा पनि छ ।

यता,शंकर र विष्णु पौडेलको इगोको लडाइँले पनि बालुवाटारलाई चिन्तित बनाएको बताउनेहरु छन् । ओली समूहको अन्तरसंघर्षबारे जिज्ञासा राख्दा एक नेताले एक वर्षअघि ईश्वर पोखरेलसँगको कुराकानी स्मरण गरे । रक्षा मन्त्रालयको कार्यकक्षमा ओलीका कार्यशैलीको खुलेर आलोचना गर्नुभएका पोखरेलले त्यतिबेलै अहिलेको अवस्थाको संकेत गरेको ती नेताले बताए ।

‘पूरै एकल शासन,न अरुलाई सूचना,न सल्लाह र सुझाव,हामीसँग कुरा हुँदा उहाँले यो पाराले ६ महिनाभन्दा बढी टिक्दैन भन्नुभएको थियो । अहिले उहाँले भनेजस्तै भैरहेको देखिन्छ । ओलीका अगाडि बोल्न नसके पनि त्यहाँ धेरै असन्तुष्टि छ भन्ने कुरा उहाँको अभिव्यक्तिले त्यतिबेलै संकेत गरेको हो’,ती नेताले भने ।

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

“जीरो ईरोर (डिफेक्ट्) सिण्ड्रोम” बाट ग्रसित नेपाली सेना
अन्तरिक्षबाट यस्तो देखियो नेपाल र हिमालय क्षेत्र (फाेटाे फिचर)
दलाए दलाए, अन्तिममा ढलाए
अष्ट्रेलियाको भन्दै सुर्खेतको बाँड्दै
Add

Scroll Up