झापाबाट पवित्रा कमरेडले भन्नुभयो, ’म माधव नेपाललाई प्रधानमन्त्री बनाउने पक्षमा छु’

झापाबाट पवित्रा कमरेडले भन्नुभयो, ’म माधव नेपाललाई प्रधानमन्त्री बनाउने पक्षमा छु’

एमाले नेतृ तथा विघटित प्रतिनिधिसभामा झापाबाट निर्वाचित पवित्रा निरौला खरेलले जनआस्था डटकममा हिजो साँझ प्रकाशित ‘२३ वर्ष पहिलेकै एमालेको त्यो अन्तर्घात काण्ड’ शीर्षक समाचारमा उल्लेखित सबै तथ्य र प्रमाणप्रति आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गर्दै आफ्नो बारेमा लेखिएको एक वाक्यप्रति चित्त दुखाउनुभएको छ ।

ओली खेमाबाट दशकौँदेखि झापामा भएका अन्तर्घातबारे कतिपय लुकेका प्रमाणसमेत उजागर गरिदिएकोमा उहाँले जनआस्थालाई धन्यवादसमेत दिनुभएको छ । तर समाचारमा लेखिएझैँ आफूले गरिवीका कारण पार्टीभित्रको अर्को पक्षसँग झुकाव राखेको भन्ने आशयको वाक्यबाट ‘मेरो आस्थामा आघात पुग्यो’ भन्ने उहाँको जिकिर छ ।

उल्लेखित सबै तथ्य र प्रमाणप्रति आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गर्दै आफ्नो बारेमा लेखिएको एक वाक्यप्रति चित्त दुखाउनुभएको छ ।

निरौलाले आफूले सँधै आस्था र विचारको राजनीति गरेकाले पैसामा कहिल्यै नबिक्ने बताउनुभयो । आस्था र विचारप्रति कहिल्यै विचलित नरहेकोमा प्रष्ट पार्दै उहाँले भन्नुभयो ‘माधव कमरेडको पक्षमा सँधै रहेको छु तर पछिल्लो राजनीतिक घटनाक्रममा नेपाली काँग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा मात्र विमती जनाएको हुँ,अन्यथा,केही होइन ।’

उहाँको प्रष्ट भनाई छ ‘माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने अवस्थामा पहिलो पटकको प्रस्तावमा दस्तखत गरेको थिएँ तर,पछि नेपाली काँग्रेसलाई समर्थन गर्न आफूले नसक्ने भन्दै पछि हटेको मात्रै हुँ । मलाई कसैले दुई पैसा दिएको प्रमाण आउँछ भने त्यसको सामना गर्न तयार छु । कसैले मलाई पैसाको प्रलोभन दिएर वा धाकधम्कीमा देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावबाट पछि हटेको होइन ।’

झापा आन्दोलनका योध्दा तथा पति नरेश खरेल लामो प्रहरी हिरासत र जेल बसाइको कारण अहिले सिकिस्त बिरामी पर्नुभएको कारण हाल गृहजिल्ला पुग्नुभएकी निरौलाले जनआस्थासँग भन्नुभयो ‘कसैको दुई पैसा खाएको छैन । खाने पनि छैन ।’

खरेललाई पुरानो यातना बल्झिएको बताउँदै कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको पनि उहाँले जानकारी दिनुभएको छ ।

२३ बर्षअगाडि पार्टीले जिविस सभापतिको उम्मेदवार बनाउँदा हालका प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले झापा आन्दोलनको दौरान १७ बर्ष जेल बस्नुहुने आफ्नै सहयोध्दा नरेश खरेललाई अन्तर्घात गरेर हराउनुभएको सम्बन्धी सबै ऐतिहासिक दस्तावेज जनआस्थाले जस्ताको तस्तै प्रकाशन गरेको थियो ।

टिप्पणीहरू