महामारी र निषेधाज्ञामा भएका आपराधिक घटनामा आफ्नै साथीलाई मार्नेदेखि लुट्नेसम्म पक्राउ

महामारी र निषेधाज्ञामा भएका आपराधिक घटनामा आफ्नै साथीलाई मार्नेदेखि लुट्नेसम्म पक्राउ

कैलालीमा आफ्नै साथीको हत्या गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका–२ मोतिपुर डेरा गरी ज्याला मजदुरीको काम गरी बस्ने धनगढीको ३६ वर्षीय विशाल बुढाथोकीको हत्या गरेको अभियोगमा उनकै साथी कैलारी गाउँपालिका–४ का ३९ वर्षीय सोमबहादुर बस्नेत पक्राउ परेका हुन् ।

विशाल टाउकोको पछाडी लागेको घाउ चोटसहित सोमबार दिउँसो मृत अवस्थामा फेला परेका थिए । घटनापश्चात फरार भएका सोम बहादुरलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले कैलारी गाउँपालिकाको वीरेन्द्र सामुदायिक वनमा लुकेर बसेको अवस्था पक्राउ गरेको हो ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूबीच अघिल्लो दिन बेलुकी घरेलु मदिरा सेवन गरी वादविवाद हुँदा सोमबहादुरले फलामको कर्नीले टाउँकोमा हिर्काउँदा विशालको मृत्यु भएको खुल्न आएको छ ।

उता,मोरङ र मकवानपुरमा प्रहरीले अवैध हातहतियार बरामद गरेको छ । मोरङको केराबारी गाउँपालिका–९ देवीझोडाका ५१ वर्षीय गणेशकुमार लिम्बु र बेलबारी नगरपालिका–२ लालभित्तिका ४१ वर्षीय पदमकुमार लिम्बु विभिन्न हतियारसहित हिजो पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले गणेशको घर तलासी गर्दा भान्सा कोठाबाट १ थान कटुवा पेस्तोल, थ्रिनटथ्री राईफलको गोली ५ थान, गोली लोड गर्ने चाचर २ थान र पेस्तोलको गोली १ थान तथा गणेशको घर आँगनमा पार्क गरेको पदम कुमारको को.१ च ८३६८ नम्बरको कार तलासी गर्दा १ थान खुकुरी र १ थान चक्कुसहित उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै, मकवानपुरको भिमफेदी गाउँपालिका–८ महावीर गाउँस्थित सार्वजनिक खाली जग्गाको खाल्डोमा लुकाइ राखेको १ थान एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा बन्दुक लुकाई राखेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरको हो ।

सप्तरी र सुनसरीमा भने लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ बाट करिब १२ ग्राम ब्राउनसुगरसहित २ जना हिजो राति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा राजविराज नगरपालिका–७ का २४ वर्षीय कृष्णकुमार साह र सोही नगरपालिका–१६ का २५ वर्षीय पंकज यादव रहेका छन् । स.१० प ५१०२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरीको भाक्राहा नर्सिङ गाउँपालिका–८ सिसुवा धरमपुरस्थित मकै बारीबाट करिब १ सय २ केजी गाँजा मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । मकै बारीमा गाँजा रहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, सुनसरीबाट खटिएको प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।

यस्तै, पर्सामा लुटपाटमा संलग्न दुई जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका ४५ वर्षीया महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–१६ का १९ वर्षीय निरज नट र सोही ठाउँका १९ वर्षीय युवराज राय रहेका छन् । वीरगञ्ज महानगरपालिका–८, घण्टाघरस्थित तरकारी बजारमा तरकारी किन्दै गरेको अवस्थामा महिलाको सिक्री लुट्ने उनीहरुलाई प्रहरी पोष्ट घण्टाघरको टोलीले पक्राउ गरेको हो ।

टिप्पणीहरू